नवयुग, जसले फेरी दिए नेपाली फुटबलको स्वरूप

तस्बिर ः नवयुगको फेसबुकबाट साभार

एउटा समय नेपाली फुटबलमा एउटा कथन थियो । राम्रो खेल्ने तर जित्न नसक्ने टोलीको रूपमा नेपाली टोली रहेको थियो । यसै नेपाली टोली पछिल्ला केही वर्ष उपाधिको खडेरीलाई पार गर्न सफल भयो ।
सायद नेपाली फुटबल टोलीले राम्रो खेलेर जित्न नसक्ने पगरीलाई थन्काउँदै जित्ने टोलीको पहिचान बोक्नुमा नवयुग श्रेष्ठको उदय एउटा महत्त्वपूर्ण कारण बनेको छ ।
सुदूर पूर्वी नेपालमा इलामको परिचय अलि फरक खालको छ । शिक्षा, आर्थिक सुचांक र भौतिक विकास सवैमा इलामले नेपालका अन्य पहाडी जिल्लालाई पछाडि छाडेको थियो । यसै इलाममा एकसे एक प्रतिभाको जन्म भएको छ , भिन्नै भिन्नै क्षेत्रमा ।
त्यसो त इलामका हरेक गाउँमा यसै खाले प्रतिभाको जन्म भएको हुन सक्छ । तर, मूलधारको खेलकुदमा क्लिक हुन एउटा संयोग पनि चाहिन्छ । नेपाल आर्मी क्लबमा आबद्ध नवयुगले एकाएक फड्को मारेका हुन् ।
सानै देखि सामान्य गाउँ तथा जिल्ला स्तरीय फुटबल खेल्ने गरेका उनी वि.स २०६५ मा सेनामा आबद्ध भए । सन् २०१५ मा उनले पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश पाए । भारतसँगको सो खेल पछि उनले कहिले पनि फर्केर हेर्नु परेन ।
यस पछि उनका नाममा अनेकौँ कीर्तिमान रहेका छन् । नवयुग राष्ट्रिय टोलीमा प्रवेश गरेको अर्को वर्ष सन् २०१६ मा वङ्गबन्धु गोल्ड कपको उपाधि जित्न सफल भयो । जहाँ उनले चार गोल गरे । सन् २०१६ मा नै भएको दक्षिण एसियाली खेलकुदमा नवयुगले सात गोल गरे ।
वङ्गबन्धु गोल्ड कपको सेमिफाइनलमा मालदिभ्सविरुद्ध ह्याट्रिक गरेर सनसनी फैलाएका नवयुगले  ब्रुनाइसंगको फाइनलमा एक गोल गरे । यो चार गोल सहित उनी प्रतियोगिताका शीर्ष गोलकर्ता र मस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
एएफसी सोलीडारिटी कप र साग खेलकुदको स्वर्ण पदक विजेता उनी  बि.स २०७३ मा नेपाल खेलकुद पत्रकार मञ्चबाट वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भए ।
घरमा आफ्नै बाबुबाट प्रेरित उनी मिथक फ्रान्सेली स्टार जिने दाने जिदानका फ्यान हुन् ,खेलाडी र प्रशिक्षकको रुपमा । अनि घरेलु फुटबलमा पछिल्लो समय प्रभाव जमाएका नेपाल आर्मी क्लब र पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपाने उनका आदर्श प्रशिक्षक । अनि अर्का मन पर्ने प्रशिक्षक मेघराज केसी ।
उमेर ३१ औ वसन्त पार गरिसकेका नवयुगको पिक फर्म सायद फेरी आउँछ यो आउँदैन त्यो प्रतीक्षाको विषय हो । तर,२०१० को दशकको पछिल्ला ५ वर्ष नेपाली फुटबलमा थुप्रै आरोह र अवरोह मैदान बाहिर भए । तर, मैदान भित्र लगातार छाउँदै इतिहासले सधैँ सम्झने नामको रूपमा आफूलाई स्थापित गर्न नवयुग सफल रहे ।
नेपाली फुटबलका लागि वङ्गबन्धु गोल्ड कप, साग खेलको स्वर्ण पदक र सोलीडारिटी कपका साथमा नवयुग श्रेष्ठ त्यत्तिकै स्मरणीय रहने छन् । तीनै नवयुगको उत्कृष्टताका कारण पोखरा थन्डर्स काठमाडौँमा जारी खुकुरी एनएसएलमा उपाधि जित्ने सम्भावना बोकेको टोलीको रूपमा रहेको छ ।

Comment