फराकिलो जीतसँगै नेपाललाई उपाधि


नेपालले पहिलो पटक घरेलु मैदानमा टी–२० सिरिज जितेको छ । त्रिकोणात्मक शृङ्खला अन्तरगत शनिवार भएको फाइनल खेलमा नेदरल्यान्ड्स १४२ रनले हरायो ।
नेपालले पहिलो ब्याटिङ गर्दै दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स १७.२. ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९६ रनमै सिमित भयो ।
टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेट गुमाएर २ सय ३८ बनाएको थियो । यो नेपालको अहिलेसम्मकै सर्वाधिक ठुलो टी–२० स्कोर हो । यसअघि नेपालको सर्वाधिक स्कोर भुटानविरुद्ध २०१९ मा बनाएको २३६ रन थियो । प्रतियोगितामा तेस्रो पटक नेपालले २ सय रनको आँकडा पार गरेको हो ।
विशाल स्कोर खडा गर्ने क्रममा नेपालका युवा ब्याट्सम्यानहरू कुशल भुर्तेल र कुशल मल्लले अर्धसत्तक बनाए । युवा ओपनर कुशल भुर्तेलले आफ्नो शानदार फर्मलाई फाइनलमा पनि निरन्तरता दिए । कप्तान ज्ञानेन्द्र मल्ल र मध्य क्रमका दीपेन्द्रसिंह ऐरीले पनि विस्फोटक ब्याटिङ गरे । ज्ञानेन्द्र १९ बलमा ३३ रन बनाएर आउट भए भने दीपेन्द्र केवल १८ बलमा ४८ रन बनाएर नटआउट रहे ।

कुशलले आफूले खेलेको पाँचौ म्याचमा चौथो अर्धसत्तक पुरा गरेका हुन् । ७७ रनको इनिङमा उनले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौका हानेका थिए । सुरुमा संयमित भएर ब्याटिङ गरेका उनले अर्धसत्तकको नजिक पुगेसँगै आक्रामक रूप लिएका थिए ।

भुर्तेलपछि मध्ये क्रमका ब्याट्सम्यान कुशल मल्लले पनि विस्फोटक अर्धसत्तक बनाए । उनले २४ बलमा ५० रन बनाएका थिए ।
नेपालका बलर करण केसीले ३ विकेट लिएपछि नेदरल्यान्ड्स खेलमा फर्किन सकेन । सन्दीप लामिछानेले २ विकेट लिए । उनी प्रतियोगिताभर सर्वाधिक १३ विकेट लिन सफल भए ।

 

Comment