ब्याडमिन्टनमा रत्नजित र सरादेबीकै दबदबा

saradevi
काठमाडौं     ११ औ कृष्णमोहन स्मृती ब्याडमिन्टन प्रतियोगिताकोे पुरुष एकलको उपाधि त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्गले जितेका छन् । उनले फाइनलमा  सोही क्लबका विकास श्रेष्ठलाई २१–१९ र २१–१६ ले पराजित गरे । यसैगरी महिला एकलको उपाधि आर्मी क्लबकै सरादेवी तामाङ्गले जितिन् । उनले सोही क्लबका नङशलदेवी तामाङ्गलाई २१–१२ र २१–१२ ले पराजित गरेकी थिइन ।
सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको स्मृतिमा सशस्त्र प्रहरी बलले वि.सं.२०६१ सालदेखि संचालन गर्दै आएको सो प्रतियोगिता’ को यस संस्करणमा कूल पुरस्कार राशी ६ लाख २० हजार रुपैयाँ रहेको छ । गतवर्ष पुरस्कार राशी ५ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
कूल ११ इभेन्ट्स समावेश रहेको उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा संचालन भएका थिए ।
बीडब्लुएफ र बीएसीको नियम अनुसार संचालित उक्त प्रतियोगिताका सम्पूर्ण इभेन्ट्समा गरी ७० जना महिलासहित कूल चार सय २६ जना खेलाडीहरु सहभागी थिए् । पुरुष युगलमा सवैभन्दा बढी १ सय १४ जना, महिला युगलमा २४ जना तथा पुरुष एकलमा ५६ र महिला एकलमा २० जना खेलाडीहरु सहभागि रहेका थिए ।
१७ वर्ष मुनीका पुरुष एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठले बाँकेका रियाज अन्सारीलाई २१–१४ र २१–१८ ले पराजित गरे । १७ वर्ष मुनीका महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका जेसिका गुरुङ्गले सोही  क्लबकै मेघा चन्दलाई २१–११ र २१–१६ ले पराजित गरी प्रथम भएकी छन् ।
यसैगरी मिक्स डबल्सतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्ग र सरादेवी तामाङ्गको जोडीले एपीएफका विशाल प्रधान र विना तुलाचनको जोडीलाई २१–९ र २१–९ ले पराजित गरी उपाधि हात पार्न सफल भएका छन् ।
यसैगरी महिला युगलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका सरादेवी तामाङ्ग र नङशलदेवी तामाङ्गको जोडीले एपीएफका शिक्षा श्रेष्ठ र प्रतिभा गुरुङ्गको जोडीलाई २१–९ र २१–१२ ले पराजित गरी उपाधि हात पारेकी छन् ।
यसैगरी पुरुष युगलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्ग र राम राईको जोडीले सोही क्लबका सुरोज महर्जन र दिपेश धामीको जोडीलाई २१–१७ र २१–१९ ले पराजित गरी प्रथम भएका छन् ।

Comment