हाप्किडोको राष्ट्रिय च्याम्पियनसिप सुरु


नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको चौथो राष्ट्रिय च्याम्पियनसिप शनिवार सुरु भयो । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल मगर सङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य नबिन रोका मगर तथा नेकपा(एमाले) गण्डकी प्रदेश इन्चार्ज लीला बहादुर थापाको पनि उपस्थिति थियो ।
सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल सितेरियो कराँते संघका प्रवक्ता ईश्वर खपांगी, नेपाल रग्बी सङ्घका महासचिव चेतन राज गिरि, राष्ट्रिय खेलकुद परिषद्को कानुन शाखा प्रमुख नारायण अर्याल र राष्ट्रिय टिम तयारी समितिका संयोजक महेन्द्र राई लगायतको उपस्थिति थियो ।


प्रमुख अतिथिको आसनबाट बोल्दै गृहमन्त्री बादलले हाप्किडो एसोसिएसनको सक्रियताको सहना गर्दै प्रतियोगिताको सफलताको कामना गरे । यसै गरी, विशिष्ट अतिथि मन्त्री तामाङले हाप्किडोको विकासमा आफू लागी पर्ने प्रतिबद्धता व्यक्त गरे । सदस्य सचिव सिलवालले हाप्किडोको विकासमा आफ्नो सहयोग रहने बताए । विशिष्ट अतिथि थापाले नेपाली खेलकुदमा हाप्किडो प्रभावशाली खेलको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।


कार्यक्रमका सभापति नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसन तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडो खेलले नेपालको स्वास्थ्य, शैक्षिक, राजनीतिक, सामाजिक, र आर्थिक विकासमा सहयोग गरेको बताए । साथै, उनले गरिबिका कारण शिक्षा र खेलकुदबाट टाढा रहेकालाई पनि हाप्किडोले सहयोग गरिरहेको बताए । कार्यक्रम एसोसिएसनका महासचिव सुवर्ण बिसीले सञ्चालन गरेका थिए । एसोसिएसनका बाग्मती प्रदेश अध्यक्ष जीवन थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । खेलकुद प्रशिक्षण केन्द्र  लैनचौरमा सञ्चालित तिन दिने प्रतियोगितामा ७ प्रदेशका ७०० खेलाडीको सहभागिता रहेको छ ।

Comment