आयुशलाई स्वर्ण

बायोका सामुदायिक विद्यालयका आयुश बोहराले कागेश्वरी मनोहरा नगरपालिका नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ छात्र ४५ केजीमा बिहीबार स्वर्ण जितेका छन् ।
कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छात्र ४८ केजीमा श्री आदर्शका महेश आङथुपु तथा ५१ केजीमा अल्पाइन एकेडेमीका आयुश ढुङ्गेलले स्वर्ण जिते ।
डाँछीस्थित नेपलिज तेक्वान्दो एकेडेमी (एनटीए) को हलमा भएको प्रतियोगिताको छात्रा ४० केजीमा कान्ति भैरवकी सुनिता मोक्तान, ४४ केजीमा तेज विनायककी सृष्टि लो तामाङ र ४२ केजीमा अल्पाइनकी प्रगति कुइँकेलले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै पहिलो स्थान हात पारे ।
विजेतालाई नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । त्यसअघि एक दिने प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका थिए । प्रतियोगितामा विभिन्न १३ विद्यालयका ३० छात्र र १७ छात्रा खेलाडीले समान ३–३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।
प्रतियोगिताअन्तर्गत शुक्रवार एथलेटिक्स खेल मुलपानीमा हुँदै छ । छात्र÷छात्रामा ६–६ गरी १२ स्पर्धामा खेल हुने छ । प्रतियोगिता काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट गर्न आयोजना गरिएको हो । पहिलो हुने खेलाडी छनोट हुने छन् ।
Comment