मञ्चको साधारण सभा सम्पन्न

 नेपाल खेलकुद पत्रकार मञ्चको १६ औँ वार्षिक साधारण सभा मङ्गलवार काठमाडौँमा सम्पन्न भयो । युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । विशेष अतिथिमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सङ्घीय संसद्का सांसद जीवनराम श्रेष्ठ, अतिथिहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, सचिव पवन आचार्य रहेका थिए ।
उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा एसोसियटबाट केन्द्रीय सदस्यमा निर्वाचित सदस्यलाई बधाई तथा सम्मान गरिएको थियो । मञ्चले हरेक वर्ष प्रदान गर्ने सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार नागरिक दैनिकका सञ्जय थापा र खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार अजय राणालाई सम्मानित गरियो । अनुजतर्फ सम्मानित थापाले ताम्र पत्र सहित ल्यापटप प्राप्त गरे । अग्रजतर्फ राणालाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरियो ।
कार्यक्रमका विशेष अतिथि जीवनराम श्रेष्ठले कोभिडबाट खेलकुदलाई अघि बढाउने विषयमा सरकारले योजना बनाउनुपर्ने बताएका थिए । प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री दावा लामाले मञ्चसँग सहकार्य गर्दै सरकार अघि बढ्न तयार रहेको उल्लेख गरे ।
साधारण सभाको बन्द सत्रले कोषाध्यक्ष अञ्जन खड्का प्रस्तुत गरेका आर्थिक प्रतिवेदन र महासचिव प्रज्वल ओलीले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनलाई पारित गर्यो ।
साधारण सभाले संविधानको मर्म अनुसार नेपाल खेलकुद पत्रकार मञ्चलाई सङ्घीय संरचनामा लैजाने सैद्धान्तिक निर्णय गरेको छ । यस्तै, कार्यविधि निर्माणका लागि पूर्व अध्यक्ष निरञ्जन राजवंशीको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन गर्यो । यस्तै, बैठकले मञ्चको पुराना सदस्यतालाई व्यवस्थित गर्न महासचिव तथा सङ्गठन विभाग प्रमुख प्रज्वलन ओलीको संयोजकत्वमा समिति गठन गरेको छ ।
Comment