सनिलको विजयी सुरुआत

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिल शाहीले एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोट प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ६९ केजीमा ललितपुरका सनिलले अल्फाका विकास राना मगरलाई पराजित गरे ।
पुरुष ६० केजीमा दाङका अनिलकुमार पुन मगरले अल्फाका निशान घर्ती मगर, नेपाल आर्मीका विमल रोक्का मगरले एपीएफ क्लबका विक्रम परियार, बक्समान्डुका गणेश थापाले आर्मीका बाबुराम मगर र नक्सालका मौसम राना मगरले ललितपुरका आभाषप्रताप शाहलाई हराए । पुरुष ५६ केजीमा एचटुओका बुद्ध ग्याम्जो लामाले आर्मीका सुदिप श्रेष्ठ तथा भूपू बक्सिङ पोखराका जिनेश गुरुङले नेपाल प्रहरीका शम्भु राजवंशीलाई पन्छाए । पुरुष ४९ केजीमा आर्मीका तेजबहादुर देउवाले एपीएफका आश तामाङलाई पाखा लगाए ।
महिला ४६–४८ केजीमा प्रहरीकी दिवाना शेर्माले एपीएफकी सावित्री तामाङ, ५१–५४ केजीमा प्रहरीकी निशा तामाङले एपीएफकी निता गोसाईं, ५४–५७ केजीमा एपीएफकी माया चौधरीले आर्मीकी विष्णुकुमारी छहारी र ५७–६० केजीमा आर्मीकी सविना श्रेष्ठले सोही क्लबकी वर्षा श्रेष्ठलाई पराजित गरे ।
 कुन तौल समूहका खेलाडी सहभागी गराउने भन्ने विषयमा खेलाडीको प्रदर्शन र उत्कृष्टताको आधारमा सङ्घले निर्णय गर्ने आयोजक सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । एलिट बक्सिङ प्रतियोगिता भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म हुँदै छ ।
Comment