साग पदक विजेता मङ्गलप्रसाद सेमिफाइनलमा


एपीएफका मङ्गलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उसुमा रजत जितेका मङ्गलले आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे । सोही स्पर्धामा नेसनल मुवाँथाईका अब्राहम राई, बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका कमल आचार्य पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै सेमिफाइनलमा पुगे ।
पुरुष ६५ केजीमा आर्मीका राजेश चौधरी र आर्मीकै सन्तोषकुमार लामा, ७० केजीमा नेसनल किक बक्सिङका गोरख इनेरा र आर्मीका सनीसिंह सुनार, ७५ केजीमा आर्मीका दलबहादुर घले र एपीएफका अनीश शाही तथा खुला तौल समूहमा नेसनल किक बक्सिङका विजय तामाङ र एपीएफका सञ्जीव महर्जनले फाइनल भेट पक्का गरे ।
पुरुष ५० केजीमा मुवाँथाईका कबिर देसार, एपीएफका रोशन अछामी, आर्मीका धर्मेन्द्र राम र राजेन्द्र लामा सेमिफाइनलमा पुगे । ५५ केजीमा मुवाँथाईका दावा कुञ्जे शेर्पा, एपीएफका रोहित छनारो, नेसनल किक बक्सिङका मनोज राना मगर र एपीएफका तीर्थराज थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर र रेज फिटनेसकी तेजी गुरुङ, ५५ केजीमा एपीएफकी विद्या गुरुङ र आर्मीकी मनीषा प्रधान, ६० केजीमा सिभानी श्रेष्ठ र एपीएफकी निशा विक, ६५ केजीमा आर्मीकी विद्या बोहरा र आर्मीकै मञ्जु विक तथा खुला तौल समूहमा एपीएफकी मनीषा रावत र आर्मीकी विन्दु पुन मगरले उपाधि भिडन्त पक्का गरे । प्रतियोगिता शनिवार सम्पन्न हुने छ ।

Comment