हेल्प नेपाल र डायमन्डलाई उपाधि


टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यु डायमन्ड भलिबल क्लब बिहीबार राजधानीमा जारी पाँचौँ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएका छन्
नेपाल भलिबल सङ्घको आयोजना तथा राष्ट्रिय वाणिज्य बैकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा हेल्प नेपालले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । हेल्पले एपिएफलाई २५–१४, २५–२०, २५–२२ले पराजित गरेको हो । लिगको अन्तिम खेलमा तीन भारतीय खेलाडीलाई विश्राम दिएर प्रतिस्पर्धामा ओर्लिएको हेल्पलाई एपिएफले ३–० को सेटमा नै पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । तेस्रो स्थानमा बुलबुले रारा क्लब र चौथो स्थानमा नेपाल पुलिस क्लब रह्यो ।
यस्तै बिहीबार नै भएको महिला तर्फको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–१ ले पन्छाउँदै न्यु डायमन्ड भलिबल क्लबले उपाधि उचाल्यो । पहिलो सेट २५–२२ ले पुलिसलाई सुम्पेको डायमन्ड खेलमा फर्कँदै लगातार दोस्रो र तेस्रो सेटमा जित निकाल्न सफल भयो । दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ ले जित निकाल्यो । चौथो सेटमा पुनः २५–२१ ले पछि परेको डायमन्ड पाँचौँ तथा निर्णायक खेलमा १५–११ ले जित निकाल्दै उपाधि कब्जा गर्न सफल भयो । एपिएफ क्लब तेस्रो र आर्मी क्लब चौथो स्थानमा रहे ।
पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी टिपटप हेल्प नेपालका विनीत कुमार रहे । यस्तै उत्कृष्ट स्पाईकर बुलबुले रारा क्लबका मुराद जेहान, उत्कृष्ट ब्लकर पुलिसका दीपक राज जोशी, उत्कृष्ट सेटर हेल्प नेपालका विकास कुमार, उत्कृष्ट डिफेन्डर एपिएफका विनोद चन्द, उत्कृष्ट सर्भर बुलबुले रारा क्लबका घनश्याम चौधरी रहे । उत्कृष्ट प्रशिक्षकको उपाधि हेल्प नेपालका रमेश के.सी. रहे ।
महिला तर्फ डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै उत्कृष्ट स्पाईकरको उपाधि पुलिसकी उषा भण्डारीले हात पारिन् । उत्कृष्ट ब्लकरमा पुलिसकी मनीषा चौधरी, उत्कृष्ट सेटरमा पुलिसकी कमला पुन, उत्कृष्ट डिफेन्डरमा डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सर्भरमा डायमन्डकी ललिता नाथ र उत्कृष्ट प्रशिक्षकमा कुमार राई घोषित भए ।
प्रतियोगितामा लिगमा शीर्ष दुई स्थान प्राप्त टिमकाविच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त ग¥यो । उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७५ हजार सहित ट्रफी प्राप्त ग¥यो । यस्तै शीर्ष टोलीका खेलाडीहरूले मेडल तथा प्रमाण पत्र प्राप्त गरे । चौथो हुने टिमले सान्त्वना स्वरूप नगद ३७ हजार ५ सय प्राप्त ग¥यो ।
उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार सहित ट्रफी प्राप्त गरे । विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गरे । यस्तै उत्कृष्ट प्रशिक्षकले पनि नगद १० हजार प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय वाणिज्य बैङ्कका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठ, क्राउन प्लाजा होटेलका डाइरेक्टर युवराज श्रेष्ठ, अनलज्योती बोर्डिङ स्कुलकी प्रिन्सिपल ज्योति के.सी., विद्यालय भलिबल कमिसनका अध्यक्ष राम बहादुर के.सी., काठमाडौँ महानगरपालिकाका विभागीय प्रमुख राम बहादुर थापा, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, दिल कुमारी मोक्तान थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment