दक्षिण ढोका ओपन कराँतेको तयारी पुरा

नेपाल गोजुरियो कराँते सङ्घ शाखा डोजो दक्षिण ढोकाको आयोजनामा वैशाखको पहिलो साता दक्षिण ढोका ओपन कराँते च्याम्पियनसिपको आयोजना हुँदै छ । प्रतियोगितामा २४ स्पर्धा समावेश गरिएका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीका प्रमुख सानुबाबु गिरिले जानकारी दिए ।
प्रतियोगिताको कुल लागत ८ लाख रुपैयाँ रहेको गिरिले बताए । ३ र ४ वैशाखमा हुने सो प्रतियोगितामा पहिलो हुने टोलीले १५ हजार, दोस्रो हुनेलाई १० हजार तथा तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताले नयाँ र प्रतिभाशाली खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास रहेको गिरिले बताए । प्रतियोगितामा नेपाल गोजुरियो कराँते सङ्घको प्राविधिक सहयोग रहने छ । प्रतियोगिता गोकर्णेश्वर ४ माकलवारिको गोकर्णेश्वर लाइट एकेडेमीको स्कुलको प्राङ्गणमा हुने छ । २० भन्दा बढी डोजो तथा स्कुलका ३०० भन्दा बढी खेलाडीको सहभागिता रहने जनाइएको छ ।
Comment