गणेशमान सिंह स्मृति किक बक्सिङ बिहीबारदेखि

आकर्षक नगद पुरस्कार राशिको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ सङ्घको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशि ९ लाख ५७ हजार रुपैयाँ रहेको छ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका विभागका सचिव एवं प्रतियोगिता संयोजक मीनकृष्ण महर्जनले प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने जानकारी गराए ।
पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धामा भिडन्त हुने छ । पुरुषमा ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुने छ । महिलामा ५०, ५५, ६०, ६५ केजी र खुला तौल समूहमा खेल हुने छ । पुरुष÷महिलाको प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले जनही ८ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । समग्रमा टिम च्याम्पियन बन्नेलाई १ लाख नगदबाट पुरस्कृत गरिने छ । दोस्रोले ५० हजार र तेस्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई समान २५–२५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, एपीएफ, उसु, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाईलगायतका टोलीको सहभागिता रहने बताइएको छ ।
तीन दिने प्रतियोगिताका खेलहरू ललितपुरको चापागाईँस्थित प्याङ गाउँ चौरमा खेलाइने छ । प्रतियोगिताको तयारी पूरा भएको संयोजक महर्जनले जनाएका छन् । प्रतियोगिताको पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति शेरबहादुरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
Comment