उसु अवार्डलाई नागरिक विकास र यो योको साथ


नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक विकास वचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।
नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । नागरिक विकासले नगद पुरस्कारको प्रायोजन गर्ने भएको छ । यो योले कार्यक्रम व्यवस्थापनमा आवश्यक पर्ने सम्पूर्ण खर्च प्रदान गर्ने जानकारी दिइयो । कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमै शनिबार हुँदै छ ।
अवार्ड कार्यक्रममा सान्सौं र थाउलोतर्फ समान १–१ पुरुष÷महिला खेलाडी गरी ४ खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा समान १–१ पुरुष÷महिला गरी २ खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने छ ।
आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने संयोजक महर्जनले पत्रकार सम्मेलनमा जानकारी गराए । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पु¥याउने एक जनालाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ विधाबाट सम्मानित गरिने छ । त्यस्तै विगत १० वर्षदेखि उसु प्रशिक्षका रुपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यो योका सञ्चालक कासीछवाले उसुको अवार्ड भक्तपुरमा हुनु सिंगो भक्तपुरका लागि खुशी र गौरवको कुरा भएको बताउदै अवार्डलाई भब्य बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । नागरिक विकासका अध्यक्ष सुब्बाले देशको शान बढाउने खेलाडीको अवार्डसंग जोडिन पाउँदा खुशी लागेको बताए ।
आयोजक कमिटीका संयोजक मन्जुर महर्जनले अवार्डपछि राष्ट्रियस्तरको उसु प्रतियोगिता आयोजना गर्ने सोच पनि रहेको बताउदै उसुको अवार्ड कार्यक्रम नेपालमै पहिलो पटक हुन लागेको दाबी गरे । अवार्ड संयोजक महर्जनले कार्यक्रमले खेलाडीहरुको मनोबल उच्च पार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा अवार्डलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा अवार्डका रुपमा प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासीछवा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष विज्ञान राईले संयुक्त रुपमा ट्रफी अनावरण गरे ।

Comment