गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरीका सिंहले मङ्गलवार पौडी पोखरीको उद्घाटन गरिन् । रियो ओलम्पिककी सबै भन्दा कान्छी खेलाडी गौरीकाले पुलचोकस्थित हार्दिक फिटनेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् । उद्घाटनपछि गौरीकाले पौडी पोखरीका साथै क्लबमा रहेका विभिन्न सेवाको अवलोकन पनि गरिन् ।
सानो र ठुलो गरी २ पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको क्लबका सञ्चालक बिराज विष्टले जनाएका छन् । सुविन लामा र सानो भाइ पौडेललाई प्रशिक्षकका रूपमा राखिएको छ ।
गौरीकालाई क्लबले आजीवन निःशुल्क सदस्यता प्रदान गरेको क्लबका अर्का सञ्चालक मन्दिर राणाले जानकारी दिए । त्यस्तै १३ औँ सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई क्लबले १ वर्षका लागि निःशुल्क सदस्यता प्रदान गरेको छ ।
सन् १९९८ मा जिम खानाका रूपमा स्थापना गरिएको क्लबले आफ्नो सेवालाई विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको सञ्चालक विष्टले बताए । क्लबले जिमका लागि ५ जना प्रशिक्षक पनि नियुक्त गरेको छ । प्रशिक्षकहरूमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दीपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन् ।
क्लबमा सउना, स्टिम, कार्डियो, स्पा, टियामो मण्डला क्याफे, जुस बारलगायतका सुविधा छन् । क्लब सञ्चालनका लागि हालसम्म करिब ६ करोड लगानी भइसकेको सञ्चालक राणाले जानकारी दिए ।
Comment