हाप्किडोको रेफ्री रिफ्रेसर कोर्स र अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाल मार्सल आर्ट्स हाप्किडो संघको रेफ्री रिफ्रेसर कोर्स र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघले वैशाखको पहिलो साता काठमाडौँमा आयोजनाको तयारी गरेको चौथो राष्ट्रिय हाप्किडो च्याम्पियनसिपलाई मध्यनजर गरी आइतबार रेफ्री रिफ्रेसर कोर्स र अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
लैनचौरस्थित टेबल टेनिस हलमा भएको कार्यक्रममा ५५ जिल्लाका रेफ्री तथा केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।  रेफ्रीहरुलाई संघका प्रमुख प्रशिक्षक सुस्मिता गुरुङले प्रशिक्षण दिएकी थिइन् ।
यस्तै, संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले हाप्किडो खेलको विकास क्रम, गतिविधि, यसको महत्त्व, उपलब्धि र आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । त्यसअघि जिल्ला तथा प्रदेशहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघले २०७८ वैशाखको ४, ५ र ६ गते काठमाडौँमा आफ्नो चौथो राष्ट्रिय हाप्किडो च्याम्पियनसिप आयोजना गर्दै छ । त्यसअघि संघले आइतबार नै आफ्नो राष्ट्रिय ब्ल्याक बेल्ट कमिटी र राष्ट्रिय रेफ्री काउन्सिल गठन गरेको छ । भुवन बुढा मगरको अध्यक्षतामा गठन भएको राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको सचिवमा प्रवीण गुरुङ रहेका छन् । राष्ट्रिय रेफ्री काउन्सिलको प्रमुखको जिम्मेवारी कृष्ण महर्जनलाई दिइएको छ ।
Comment