स्युचाटार तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता च्याम्पियन

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्र नगरमा सम्पन्न तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि स्युचाटार तेक्वान्दो डोजाङले जितेको छ । उपाधि जित्ने क्रममा स्युचाटारले ४ स्वर्ण,२ रजत तथा दुई काश्य पदक हात पारेको हो । ३ स्वर्ण, दुई रजत तथा दुई काश्य पदक जितेको सुपरस्टार दोस्रो तथा २ स्वर्ण,१ रजत तथा १ काश्य पदक जितेको जुगेडा तेक्वान्दो डोजाङ तेस्रो भए ।
ग्योरोगीमा सुपरस्टारकी नीलिमा मल्ल तथा पुम्सेमा स्युचाटारकी मोनीका रम्तेल उत्कृष्ट खेलाडी घोषित भए ।
 प्रतियोगितामा विजयी टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा कर्णाली प्रदेशका सदस्य सचिव विश्वामित्र सन्जेल, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश समसेर राणा, वरिष्ठ तेक्वान्दो प्रशिक्षक अर्जुन विक, ओलम्पियन सँगिना वैद्य, तेक्वान्दो मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठ तथा तेक्वान्दो प्रशिक्षक नोर्बु लामा र मनोज खड्गीको पनि  उपस्थिति थियो । साथमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुवास श्रेष्ठ पनि उपस्थित थिए । आयोजक नेपाल तेक्वान्दो सङ्घ महिला सशक्तीकरण समितिकी संयोजक नन्दा बस्यालको सभापतित्वमा कार्यक्रम भएको हो ।
नेपाल तेक्वान्दो सङ्घ, महिला सशक्तीकरण समितिको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद सङ्घको सहयोग रहेको थियो ।
 व्यक्तिगत तर्फ स्वर्ण पदक बापत ५, रजत पदक बापत ३ तथा काश्य पदक बापत २ हजार रुपैयाँ पुरस्कार पाए ।
सफलताले उत्साहित चन्दु
मुला पानी तेक्वान्दो डोजाङकी चन्दु शाहीले सुर्खेतमा सम्पन्न राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जिते पछि यसले आफूलाई उत्साहित तुल्याएको बताएकी छिन् । डोजाङ व्यवस्थापन तथा प्रशिक्षकको सहयोगको राम्रो प्रशिक्षण र उत्साहका कारण यो सफलता पाएको उनले बताएकी छिन् ।
Comment