पारा ब्याडमिन्टनमा प्रकाशको फड्को


दुबई पारा ब्याडमिन्टन सङ्घको आयोजनमा शनिवार देखि २३ गते सम्म दुबईको सहवाव अल अलि दुबई क्लबमा हुने तेस्रो फज्जा दुबई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।
च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन सङ्घले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन सङ्घको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरू आयोजना नभई रहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सबल प्रतियोगिता मानै सहभागिता जनाउँदै स्तरियता प्रदर्शन गर्दै आई रहेका खेलाडी समेत हुन् ।
खेलाडीलाई बिदाइ गर्ने क्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गर्दै खेलाडीहरू अबका दिनमा व्यावसायिकता तर्फ अग्रसर हुनु पर्ने र त्यसका लागि आफूलाई सक्षम बनाउनु पर्ने बताए । उनले खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा समावेश हुने भएकोले त्यसलाई यथार्थमा उतार्नु पर्ने बताए ।
नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपालले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको भन्दै यसका लागि नेपाल ब्याडमिन्टन सङ्घ, राखेपका सदस्य एवं सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठको विशेष पहल रहेको बताए । दक्षिण एसियाली पारा ब्याडमिन्टन सङ्घका अध्यक्ष समेत रहेका उनले नेपाली खेलाडीले विभिन्न विधा मध्ये अहिले एसएल ४ को विधामा नाम दर्ता गरिएता पनि प्रतियोगिताका दौरान खेलाडीको परीक्षण पश्चात् कुन विधामा सहभागिता जनाउन पाउने भन्ने निक्र्यौल हुने बताए । अध्यक्ष श्रेष्ठले खेलाडीलाई अनुशासित भई प्रतियोगिता खेल्न सुझाव प्रदान गदै पहिलो पटक सहभागिता भएकोले अहिले देखाएको कुशलता र अनुशासनले भोलिका दिनमा अरू खेलाडीहरूका लागि समेत बाटो खुल्ने बताए ।
बिदाइ कार्यक्रममा राखेप सदस्य एवं सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नवीन विक्रम शाह र समीर बहादुर सिंह, सदस्य छविलाल जोशी, अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षक किरण थापा लगायतको उपस्थिति रहेको थियो ।

Comment