निरस खेलमा बङ्गलादेशको जित

कोरोना भाइरस (कोभिड १९) महामारीपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता निरस देखिएको छ । फुटबलमा हुनु पर्ने आकर्षण नै नभएको तथा दर्शकले ९० मिनेट रङ्गशालामा बिताउनै  कठिन झैँ लाग्ने थ्री नेसन्स कपको उद्घाटन खेलमा बङ्गलादेशले किर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलले हरायो ।
यो जितसँगै बङ्गलादेश तीन टोली सहभागी प्रतियोगिताको फाइनलनजिक पुगेको छ । बिहीबार हुने खेलमा किर्गिस्तान नेपालसँग बराबरीमै रोकिएको अवस्थामा पनि बङ्गलादेश फाइनलमा पुग्ने छ ।
गत २०६७ मङ्सिर अन्तिम साता १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रङ्गशालामै भएको फुटबलतर्फmको प्रतिस्पर्धामा बङ्गलादेशले काश्यपदक जितेको थियो । १३औँ सागमा फाइनलमा भुटानलाई पराजित गर्दै नेपालले स्वर्णपदक जितेको थियो ।
सोही प्रतियोगितापछि रङ्गशालामा आयोजना भएको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस खेल हेर्न गएका धेरै दर्शक मध्यान्तर पछि नै बाहिरिएका थिए ।
खेलको ३०औँ मिनेटमा बङ्गलादेशका मोहम्मद साध उदिनले क्रस गरेको बललाई रोक्ने प्रयास गर्दा किर्गिस्तानका कुमारबाज उलु बइअमनले आफ्नै पोस्टमा छिराएका थिए । बलले किर्गिस्तानका गोलरक्षक तोकोतइभ इर्झानको शरीरमा ठोक्किएर पनि गोल लाइन पार गरेको थियो ।
प्रतियोगिताअन्तर्गत अब दोस्रो खेलमा बिहीबार नेपालले किर्गिस्तानसँग खेल्ने छ । यस्तै, शनिवार नेपाल र बङ्गलादेशले प्रतिस्पर्धा गर्ने छन् । यो खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि सोमबार फाइनलमा खेल्ने छ ।
Comment