जितका प्रतीक मेघराज 

एउटा युग थियो, जावलाखेल यूथ क्लब ए डिभिजन लिगको मिडटेबलमा सङ्घर्ष गरी रहेको हुन्थ्यो । यसै टोलीका फरवार्ड मेघराज केसी भने शीर्ष क्लबका फरवार्ड झैँ मैदानमा छाइरहेका हुन्थे । यी भए , वि.स ५० को दशकको कुरा ।
७० को दशकको अन्त्यमा आइपुग्दा नेपाली फुटबल फरक मोडमा आइपुगेको छ । त्यत्तिकै फरक मेघराजको फुटबल जीवनमा । खेलाडीको रूपमा मिड टेबलमा रहेका मेघराज प्रशिक्षक भए पछि यत्ति धेरै सफल भए की, उनले जित्न नपाएको कुनै घरेलु प्रतियोगिता नै बाँकी छैन होला । एउटै प्रतियोगिता पटक÷ पटक पनि उनले जितेका छन् । तीन पटक मात्र आयोजना भएको ब्रिटिस गोर्खा कप फुटबल प्रतियोगितामा दुई पटक जितेर एक पटक उप विजेता हुनले त उनको उत्कृष्टतालाई थप प्रमाणित गरेको छ । फ्रेन्चाइजको स्वरूपमा नेपाली फुटबल  पुग्दा मेघराज चितवन एफसीमा आबद्ध भएका छन् । जितका भोका मेघराजका लागि यो अर्को चुनौती र अवसर दुवै हो ।
सन् १९९९ देखि एन्फा एकेडेमीमा आबद्ध मेघराज सन् २००९ देखि क्लब फुटबलमा छाए । उनी सुरुवातमा मच्छिन्द्र क्लबमा आबद्ध थिए । यस पछि थ्री स्टार क्लब पुगेका मेघराज सन् २००९ देखि २०१२ सम्म त्यहाँ रहे । नेपालको लिग च्याम्पियन हुँदै पहिले प्रेसिडेन्ट कप खेलेको थ्री स्टार त्यस पछि खस्किएको थियो । त्यसै थ्री स्टारको यस पटकको पुनरागमनको युगका नायक बनेर मेघराज उदाए ।
सन् २०१० र २०११ मा मेघराज राष्ट्रिय टोलीमा सहायक प्रशिक्षक थिए । सन् २०१२ मा हिमालयन शेर्पा क्लब पुगेका उनी अर्को सत्र फ्रेन्ड्स क्लब पुगे । यस पछि तिन संस्करण नेपाल आर्मी क्लब सम्हालेका मेघराजले आर्मी क्लबलाई पनि नयाँ स्वरूप दिए । यी नै मेघराज सन् २०१६ मा थ्री स्टारमा आबद्ध हुँदै यस क्लबलाई नेपालको सफल क्लबमा फेरी एक पटक स्थापित गराए ।
उनको प्रशिक्षण कोर्सको सुरुवात भने सन् २००२ बाट सुरु भएको थियो । सन् २००२ माएएफसी सी लाइसेन्स कोर्स गरेका उनले सन् २०११ फुटुरो कोर्स गरे । सन् २०१२ मा एएफसी बी लाइसेन्स कोर्स गरेका उनका लागि सन् २०१६ महत्त्वपूर्ण बनेको थियो । यसै वर्ष उनले फिफा कोचिङ कोर्स र एएफसी ए लाइसेन्स कोर्स पुरा गरे । सन् २०१७ मा ४७एफए इन्सट्रक्टर कोर्स गरे । यो कोर्स जापान फुटबल सङ्घले सञ्चालन गरेको थियो । सन् २०१९ मा उनले फिफा यूथ कोचिङ कोर्स तथा एएफसी फिटनेस कोचिङ ट्युटर कोर्स पुरा गरे ।
यी यावत कोर्स र  अनुभवले खारिएका मेघराजको यो फ्रेन्चाइजमा केही संयोग देखिएको छ । डायनामीक नेतृत्वको चितवन एफसीमा उनी आबद्ध छन् । मैदान भित्र र बाहिर उत्तिकै नेतृत्व क्षमता भएका बेजोड प्रतिभाशाली व्यक्तित्व भरत खवासलाई चितवन एफसीले पाएको छ ।
नेपालको रेमिटेन्स हुँदै दर्जनौँ ब्यपारिक क्षेत्रमा सफलता पाएको समूहमा यो समूह मेघराज र भरतको उपस्थिति चानचुने पक्कै होइन । यो आशा मात्र होइन, विश्वास गर्ने थुप्रै आधार पनि छन् की चितवन एफसीले फ्रोन्चाइजको रूपमा सुरु भएको नेपाली फुटबलमा अघि हुने छ । यो दौडका लागि मेघराजको रूपमा  उपयुक्त सारथि पनि चितवन एफसीले पाएको छ । जितका प्रतीक प्रशिक्षक र सफलताको प्रतीक व्यापारिक संस्थाको यो समन्वय नेपाली फुटबलमा पक्कै महत्त्वपूर्ण र सार्थक हुने छ ।
Comment