दीपेश र प्रिन्स उपाधिका लागि भिड्ने


एपिएफका दीपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि निकट पुगेका छन् ।
राष्ट्रिय च्याम्पियन दीपेशले फाइनल प्रवेश गर्ने क्रममा सेनाका रुकेश महर्जन माथि २१–१४, २१–१७ को जित निकाले भने विश्व जुनियरको बरीयतामा तेस्रो नम्बरमा रहेका प्रिन्सले प्रतियोगितामा दोस्रो वरीयता पाएका पुलिसका विष्णु कटुवाल माथि २१–१५, २१–१२ को जित निकाले ।
शनिवार साङ्लास्थित साइनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दीपेशले सेनाका रुकेश महर्जन माथि को जित निकाल्दै उपाधिका लागि प्रिन्ससँगको भेट पक्का गरेका हुन् । प्रिन्सले पुलिसका विष्णु कटुवाललाई ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
साइनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकल तर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका अमिता गिरी र अनु माया राईले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अमिताले धादिङकी तारा आलेलाई २१–९, २१–४ ले र राईले एपिएफकी शोभा गौचनलाई २१–८, २१–१२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
पुरुष युगल तर्फ हिमालय क्लबका विशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरी फाइनल प्रवेश गरे । उक्त जोडीले सुर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडीलाई २१–१६, २१–१२ ले पराजित गर्दै उपाधिका लागि आयोजक साइनोको अभिषेक बोस र सुजन थापाको जोडी सँगको भेट पक्का गरे । बोस र थापाको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडीलाई २१–१७, २१–१३ ले पराजित गरे ।
पुरुष युगल ४५ को प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडी जित निकाल्दै फाइनल प्रवेश गरे । उक्त जोडीले युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडीलाई २१–१३, २१–१९ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा पर्फेक्ट फिटनेस क्लबका पूर्ण हरि होना र सञ्जय कपालीको जोडीले ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीलाई २१–९, २१–१३ ले पराजित गर्दै उपाधिका लागि जेष्टका श्याम र नवीनको जोडी सँग प्रतिस्पर्धा गर्ने भएका छन् ।


पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्य दर्शनका दीपक राना र सञ्जय श्रेष्ठको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडी माथि १५–२१, २१–१८, २१–१८ को जित निकाल्दै फाइनल प्रवेश गरे । यस्तै अर्को खेलमा गण्डकीका तिलक छन्त्याल र हिरा राईको जोडीले चितवन ब्याडमिन्टन सङ्घका साजकुमार गुरुङ र साइनोका सुजन थापाको जोडीलाई २१–१९, १९–२१, २२–२० ले पराजित गरे ।
पुरुष युगल सी तर्फको खेलमा टोखा युग क्लबका क्षितिज खनाल र अमन महर्जन तथा कीर्तिपुरका दिप्रिस मुन बज्राचार्य र निखिल भट्टको जोडी फाइनल प्रवेश गरेका छन् । खनाल र महर्जनको जोडीले बुटवलका किरण विष्ट र चितवन जिल्ला ब्याडमिन्टन सङ्घका राजकुमार गुरुङको जोडीलाई १५–२१, २१–१०, २१–१७ ले तथा दिप्रिस र निखिलको जोडीले गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडीलाई २१–१५, २१–१७ को सहज जित निकाले ।

Comment