दीपेश र विष्णु अन्तिम आठमा


एपिएफका दीपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।
शुक्रवार सम्पन्न खेलमा दीपेशले सेनाका सन्तोष पनेरुलाई २१ – १४, २१ – १२ को सहज जित निकाल्दै क्वाटर फाइनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रतियोगिताका दोस्रो वरीयता पाएका विष्णुले आफ्ना .प्रतिद्वन्द्वी सेनाका डेभिड थापामाथि २३–२५, २१–१९, २१ – १७ को कठिन जित निकाले ।
यसै गरी पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका रुकेश महर्जन, भुपु सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल, सेनाका भोजबहादुर गुरुङ रहेका छन् । पविनले कैलालीका देवराज रानालाई २१ – १६, १५ – २१, २२ – २० ले पराजित गरे । यसै गरी जीवनले सेनका गोकुल जोरालाई २१ – १७, २१ – १०, रुकेशले भुपु सैनिकका सुरज गुप्तालाई २१ – १४, २१ – १७, सहरोजले पुलिसका पूर्ण बहादुर थापालाई २१ – १७, १८ – २१, २१ – १६, प्रिन्सले सेनाका आयुष्मान् नागरीलाई २१ – १६, २१ – ७ र भोजबहादुरले सुर्खेतका नरेन्द्र बमलाई २१ – १४, २३ – २१ ले पराजित गर्दै अन्तिम आठ पुगेका हुन् ।
तारकेश्वर नगरपालिका १ साङ्लास्थित साइनो स्पोर्टस हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकल तर्फ धादिङकी तारा आले र सेनाकी प्रार्थना देउवाले क्वाटर फाइनलमा स्थान बनाए । महिलाको न्यून उपस्थिति रहेको प्रतियोगितामा ताराले सेनाकी डेमोना केसी २१ – १०, २१ – ७ तथा प्रार्थनाले बुटवलकी प्रतिष्ठा अर्याल माथि २१ – ६, २१ – ७ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरे ।
पुरुष युगल सी लेबलको प्रतिस्पर्धामा धादिङका बिपेन घले र राम मल्ल ठकुरीको जोडी र गण्डकी ब्याडमिन्टन क्लबका शरद खड्का रमेश ठकुरीको जोडीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । क्वाटर फाइनल प्रवेश गर्ने अन्यमा टोखाका क्षितिज खनाल र अमन महर्जनको जोडी, सिडीबिएका किरण विष्ट र राजकुमार गुरुङको जोडी, कीर्तिपुरका द्रिपेश बज्राचार्य र निखिल भट्टको जोडी, भुपुका जीवन खत्री र प्रकाश कुँवरको जोडी, गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडी, टोखाका बुद्ध डङ्गोल र शोक राज डङ्गोलको जोडी रहेका छन् ।
यस्तै पुरुष ४५ वर्ष माथिको युगल तर्फ जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडी क्वाटर फाइनल प्रवेश ग¥यो । गोकर्णेश्वरका बुद्धिबहादुर घिसिङ र डी बहादुर तामाङको जोडीले पनि क्वाटर फाइनलमा स्थान बनाउन सफल भयो । क्वाटर फाइनल प्रवेश गर्नेमा युनिक स्पोर्टसका एम बज्राचार्य र अनिल कुमार लाखेको जोडी, पिएफसीका पूर्ण हरि होना र सञ्जय कपालीको जोडी, बुटवलका वीरेन्द्र सिंह विष्ट र मान बहादुर रानाको जोडी, जेष्टका राजाबाबु महर्जन र रुद्र थिङ्गको जोडी, ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडी तथा चन्द्रगढीका हरि खत्री र भरत श्रेष्ठको जोडी पनि रहेका छन् ।

Comment