प्युठानमा छाउँदै हाप्किडो


प्युठानस्थित माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयमा हाप्किडोको प्रशिक्षण सुरु भएको छ । माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले प्रशिक्षणको उद्घाटन गरे  । प्युठानमा यो हाप्किडोको तेस्रो डोजाङ हो । सहभागीलाई प्युठान हाप्किडो प्रशिक्षक टेकराज केसीले प्रशिक्षण दिने छन् ।
पहिलो चरणमा २५० जनालाई प्रशिक्षण दिइने छ । उद्घाटन समारोहमा दक्षिण एसियाली  हाप्किडो महासङ्घका अध्यक्ष तथा अन्तर्राष्ट्रिय मास्टर काली बहादुर घर्ती मगरको पनि उपस्थिति थियो ।


१ हजार भन्दा बढी विद्यार्थी तथा  खेलाडीको उत्साहजनक उपस्थिति रहेकाले चरणबद्ध प्रशिक्षण गराउँदै जाने प्रशिक्षक टेकराजले बताए । प्रशिक्षण जारी माण्डवी माध्यमिक विद्यालय प्युठानका नमुना सामुदायिक विद्यालय हो । शिक्षा क्षेत्रमा यो विद्यालय उदाहरणीय विद्यालयको रूपमा परिचित रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकाले अनुशासित हुँदै खेलमा सक्रिय रहे यहाँका विद्यार्थी र खेलाडीले चाँडो नै प्रगति गर्ने बताए । उनले गाउँपालिकाका अन्य सामुदायिक विद्यालयमा पनि यो खेललाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मास्टर घर्ती मगरले हाप्किडो खेललाई स्वास्थ्य, शिक्षा, पर्यटन, सामाजिक, राष्ट्रियता, पहिचान र जनजीवनसँग जोड्नु पर्ने बताए । उनले देश भरी विद्यालय तहबाटै शिक्षासँगै हाप्किडो खेललाई पनि सँगै लैजाने  बताए । कार्यक्रम मुक्ति पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै  विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलले हाप्किडो खेललाई प्रवेश गराउन सफल भएकोमा खसी व्यक्त गरे । खेलले विद्यार्थीको मानसिक र शारीरिक विकासमा धेरै सहयोग पुग्ने उनले बताए ।

Comment