प्रथम साइनो खुल्ला मेयर कप प्रतियोगिता सुरु

तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साइनो स्पोर्टस् हलको आयोजनामा प्रथम साइनो खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधवारबाट सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले उपत्यकाबाट ६ कि.मि. टाढा यस्तो राम्रो कभर्डहल बनाई ब्याडमिन्टन खेलको विकासमा अग्रसर भएकोमा हलका सञ्चालक ओमलाल गुरुङलाई धन्यवाद प्रदान गर्दै परिषद् साइनोसँग सहकार्य गर्न इच्छुक रहेको बताए । उनले परिषद्, तारेकेश्वर नगरपालिका र साइनो बिच ब्याडमिन्टन विकासका लागि एमओयु गर्नु पर्ने धारणा राखे । यती राम्रो हलमा आगामी दिनमा राष्ट्रिय प्रतियोगिता गर्नु पर्ने र त्यसका लागि परिषद्ले सक्दो सहयोग गर्ने श्रेष्ठले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रतियोगिताका रेफ्रि उदय अर्यालले आगामी दिनमा प्रतियोगितामा बि र सी लेभल भनेर छुट्ट्याउन नहुने भन्दै यस्ता प्रतियोगिताले खेलमा विकृति उत्पन्न हुने बताए । उनले लेभल छुट्टाउने प्रचलन नेपालमा मात्र भएको भन्दै यसले राम्रा खेलाडीहरूले नगद पुरस्कारमा आकर्षित भई बि र सी लेभलमा प्रतिस्पर्धा गर्ने र माथिल्लो प्रतिस्पर्धालाई खल्लो बनाउनुका साथै महत्त्वहीन बनाउने बताए । उनले बि र सी लेभलमा पुरस्कार राशिको आकर्षणका कारण राष्ट्रिय बरीयतामा रहेका खेलाडीहरूले वरीयता विहीनका लागि निवेदन दिने क्रम बढ्ने समेत बताए ।
पाँच दिन सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरीयतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ वर्ष माथि) बी र सी लेबल गरी कुल ६ विधामा १९७ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष एकल र युगलमा विजयी शीर्ष तीन स्थानका खेलाडीहरूले नगद ५०, ३० र १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै पुरुष एकलमा क्वाटरफाईनलिष्टहरुले नगद ५ हजार र प्रमाण पत्र प्राप्त गर्ने छन् । महिला एकल तर्फ शीर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । भेट्रान्स तर्फ विजयी शीर्ष तीनले ४०, २५ र २० हजारका साथै मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै प्रथम स्थान प्राप्त गर्नेलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको लागत १५ लाख रहेको छ ।
प्रतियोगिता अन्तरगत पहिलो दिन भएको खेलमा जित हात पार्दै कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले विजयी सुरुवात गरेका छन् । देवराजले आयोजक साइनोका सुजन थापालाई २१–१४ को समान अन्तरले पराजित गर्दै दोस्रो चरण प्रवेश गरे । यस्तै पविनले बुटवलका प्रतीक अर्याल माथि २१–७, २१–८ को जित हात पारे ।
जित हात पार्दै दोस्रो चरण प्रवेश गर्ने क्रममा सेनाका सन्तोष पनेरुले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका प्रतीक श्रेष्ठमाथि २१–३, २१–५, गोकुल जोराले एनआरएन दुबईका साहिल चन्दलाई २१–५,२१–१० र  रुकेश महर्जनले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका अश्विन जलानलाई २१–१३, २१–१० ले हराए ।   भुपु सैनिक तालिम केन्द्रका सुरज गुप्ताले टोखाका दामोदर श्रेष्ठबाट वाक ओभर,. पाए  ।  सहरोज अन्सारीले कैलालीका योगेश खड्कालाई १८ –२१, २१–११, २१–१८ र  नेपाल पुलिसका पूर्ण बहादुर थापाले टोखाका क्षितिज खनाललाई २१–१९, २२–२० ले हराए । सेनाका आयुष्मान् नागरीले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका दिपेन गायकबाट वाक ओभर पाए भने सुर्खेतका नरेन्द्र बमले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका बबिस थापालाई २१–१६, २१–१५, सेनाका भोजबहादुर गुरुङले चण्डोलका शिव थापालाई २३–२१, २१–१२ र डेभिड थापाले टोखाका अमन महर्जनलाई २१–१५, २१–१० ले पराजित गरे ।
तारकेश्वर १ साङ्लामा आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगल सी तर्फ सिन्धुलीका विष्णु ढुङ्गेल र पुरज ढुङ्गेलको जोडीले स्पोर्ट्स हवका ज्ञानु गिरी र रोचक राईको जोडीलाई २०–२२, २१–४, २१– ९, दाङका अरुण अधिकारी र सुविन श्रेष्ठको जोडीले चन्द्रागिरिका अशोक जोशी र रोशन श्रेष्ठको जोडीलाई २१–१५, २१–१८तथा  दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र राम आले मगरको जोडीले हरिसिद्धि ब्याडमिन्टन क्लबका विक्रम महर्जन र हेरि राज महर्जनको जोडीलाई २१–१८, २१–१७ ले हराए ।  गण्डकी ब्याडमिन्टन क्लबका शरद खड्का र रमेश ठकुरीको जोडीले सूर्य दर्शनका दीपक राना र अर्जुन तामाङको जोडीलाई १५ –२१, २१–१२, २१–१९ ले हराए ।  टोखाका मानकाजी श्रेष्ठ र पुष्प श्रेष्ठको जोडीले चण्डोलका सुमन डङ्गोल र सुजन तामाङको जोडीलाई २१–१५, २१–८ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरे ।
यसै गरी दोस्रो चरण प्रवेश गर्ने क्रममा सूर्य दर्शनका बाबुराम महर्जन र हिरा रोका मगरको जोडीले बुटवलका प्रतीक अर्याल र युएई दुबई एनआरएनका साहिल चन्दको जोडीलाई २१–१६, २१–१० तथा हरिसिद्धी ब्याडमिन्टन क्लबका धनराम महर्जन र सिदिस महर्जनको जोडीले धर्मस्थलीका नवराज खड्का र विजय श्रेष्ठको जोडीलाई १६ –२१, २१–१५, २१–१८ले हराए ।  कीर्तिपुरका द्रिप्रिस बज्राचार्य र निखिल भट्को जोडीले भक्तपुरका राजेश खाईतु  श्याम सुन्दर खाईजुको जोडीलाई २१– ९, २१–१६, टोखाका क्षितिज खनाल र अमन महर्जनको जोडीले भक्तपुरका राजेश घेमसु र रुकेश कुवरको जोडीलाई २१–७, २४–२२ ले पराजित गरे । भुपु सैनिकका जीवन खत्री र प्रकाश कुँवरको जोडीले टोखाका पदम गुरुङ र प्रशान्त सिंह ठकुरीबाट वाक ओभर, नुवाकोटका चन्दन घले र सुरज लामाको जोडीले ललितपुरका सुजित महर्जन र राकेश शाक्यबाट वाक ओभर तथा टोखाका प्रकाश कार्की र दामोदर श्रेष्ठको जोडीले ओखलढुङ्गाका हेमन्त राई र नीरज राईको जोडीबाट वाक ओभर प्राप्त गरे ।
Comment