ब्याडमिन्टनका दर्जन लिजेन्डसहित खेल पत्रकार सम्मानित

Manoj Shiama
9 March, 2021 10:58 am

काठमाडौं ब्याडमिन्टन एकेडेमीले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली महिला ब्याडमिन्टनमा पहिलो पुस्तादेखिका च्याम्पियन खेलाडीहरूसहित एक जना खेल पत्रकारलाई सोमबार सम्मान गरेको छ ।

 

अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै नेपाली झण्डा फहराउने उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित गत पुसमहिनामा स्थापित एकेडेमीले कमलादीस्थित रोयस सिंगी होटलमा कार्यक्रम गर्दै वि.सं.२००८ सालदेखि २०७२ सालसम्म राष्ट्रिय प्रतियोगितामा महिला सिंगल र महिला डबल्समा च्याम्पियन भएर खेलबाट सन्यास लिइसकेका ब्याडमन्टिन खेलाडीहरूलाई सम्मान गरेको हो ।

 

युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २००८ सालकी च्याम्पियन डा.रीता थापासहित राजदेवी मानन्धर, रीता अधिकारी विष्ट, विद्या भण्डारी थापा, विन्दा पौडेल सिम्खडा, शिला केसी प्रधान, कल्पना राणा, शान्ति मानन्धर, रजनी जोशी, शुभ श्रेष्ठ, जयन्ती बस्नेत र अनुपमा मास्केलाई मायाको चिनोसहित दोसल्ला ओेढाई सम्मान गरिएको हो । यसवीच च्याम्पियन भएका रीना श्रेष्ठ र सुमिना श्रेष्ठ अमेरिकामा छन् भने मीरा राई जापानमा बस्छिन् । छाया“ श्रेष्ठ र सरा देवी तामाङ विविध कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । पूर्वच्याम्पियन सुशिला वदनको देहासन भइसकेको छ । तीनपल्टकी च्याम्पियन रीता अधिकारी विष्ट काठमाडौं ब्याडमिन्टन एकेडेमीकी अध्यक्ष पनि हुन् भने शान्ति मानन्धर सञ्चालक सदस्य हुन् ।

 

करिब दुई दशकयता खेल पत्रकारितामा निरन्तर सक्रिय रहेकी सरिता श्रेष्ठ (एभेन्यूज टेलिभिजन) लाई पनि नगद १० हजार रुपैया“सहित सम्मान गरियो ।