रत्न र नवीनको जोडीलाई उपाधि


भोजपुरका रत्न जित तामाङ र नवीन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् । रत्न र नवीनको जोडीले सङ्खुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१-१८, २१ – ८ को सहज जित निकाल्दै उपाधि उचालेका हुन् । विजयी जोडीले नगद ५० हजारका साथै मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता टोलीले नगद ३० हजार मेडल र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद १५ हजार मेडल, प्रमाण पत्र प्राप्त गरे ।
भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिताको पुरुष एकल तर्फ पाँचथरका दिवस शंकरले आफ्नै जिल्लाका एसिया जवेगु माथि सङ्घर्षपूर्ण जित निकाल्दै उपाधि चुमे । दिवसले एसिया माथि २२ – २०, १९ – २१, २२ – २० को घर्षपूर्ण जित हात पारेका हुन् । विजयी खेलाडीले नगद २५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । उपबिजयी खेलाडीले नगद १५ हजार, मेडल प्रमाण पत्र तथा तृतीय हुनेले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरे ।
महिला तर्फको खेलमा नेपाल नम्बर एक भोजपुरकी नङ्गशल तामाङले जित हात पार्दै उपाधि चुमिन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा तामाङले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सीमा राजवंशी सँग २१ – १८, १८ – २१ को एक एकको बराबरीको खेल खेल्दै निर्णायक खेलमा १५ – २ ले पछि परेको अवस्थामा अस्वस्थ भई सिमाले खेल त्यागे पछि नङ्गशलले जित हात पारिन् । विजयी खेलाडीले नगद २० हजार मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । यस्तै उपबिजयी खेलाडीले नगद १० हजार, तृतीयले नगद ५ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरे ।
गल्र्स यु १७ तर्फको प्रतिस्पर्धामा मोरङकी रोज पाण्डेले उपाधि उचालिन् । उनले फाई नलमा सुनसरीकी सृष्टि चाम्लिङ राईलाई २१ – १२, २१ – १७ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् । रोजले विजय भए बापत १५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । यस्तै उपबिजयी सृष्टिले नगद ८ हजार सहित मेडल, प्रमाण पत्र प्राप्त गरिन् ।
यस्तै ब्वाईज तर्फ इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङ विजयी भए । उनले सुनसरीका सत्यम सुब्बा माथि २१ – १०, २३ – २१ को कठिन जित निकाले । यस सँगै भोजले ट्रफी मेडल प्रमाण पत्रका साथ नगद १५ हजार र उपबिजयी सत्यमले नगद ८ हजार, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
भोजपुरमा जुनियर लेभल देखि खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यु १३ गल्र्स तर्फको खेलमा निमा तामाङले उपमाम खड्कालाई २२ – २०, २१ – १८ ले पराजित गर्दै नगद ५ हजार सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । उपबिजयी खड्काले नगद ३ हजार प्राप्त गरिन् । यस्तै ब्वाईज तर्फ मिबुङ्ग राईले जित हात पारे । उनले तयाबुङ्ग राईलाई २१ – १४, २१ – १९ ले पराजित गरे । विजयी तथा उपबिजयी खेलाडीहरूले नगद ५ हजार र ३ हजार तथा तेस्रो हुनेले नगद १५ सय प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, पौवा गुम्बाका अध्यक्ष किरण राई, प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्य लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै मेयर आलेले यस प्रतियोगितालाई आगामी दिनमा राष्ट्रिय स्तरको प्रतियोगितामा परिणत गर्ने र भोजपुरमा एक अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।

Comment