विवेकको यात्रा सेमिफाइनलमा सीमित


लामो समय पश्चात् कोर्टमा फर्किएका भोजपुरका विवेक श्रेष्ठको यात्रा सेमिफाइनलमा नै सीमित भएको छ । पूर्व जुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को पुरुष सेमिफाइनलमा पाँचथरका दिवस शंकरसँग १९-२१, ८ – २१ ले पराजित हुन पुगे । अव उपाधिका लागि दिवसले आफ्नै जिल्लाका एसिया जवेगु सँग प्रतिस्पर्धा गर्ने छन् । जवेगुले सङ्खुवासभाका पविन लिनथेप माथि १५ – २१, २१ – ८, २१ – १७ को जित निकाले ।
भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकल तर्फ भोजपुरकी नङ्गश देवी तामाङले जित हात पार्दै फाइनल यात्रा तय गरिन् । उनले सुनसरीकी सृष्टि चामलिङ्ग राईलाई २१ – ९, २१ – ८ले पराजित गर्दै उपाधि निकट पुगेकी हुन् । नङ्गशलले अव उपाधिका लागि सुनसरी ब्याडमिन्टन एकेडेमीकी सीमा राजवंशी सँग प्रतिस्पर्धा गर्ने छिन् । सिमाले सेमिफाइनलमा मोरङकी रोज पाण्डेलाई २१ – १२, २१ – १३ले पराजित गर्दै नङ्गशल संगको भेट पक्का गरेकी हुन् ।
पुरुष युगल तर्फको प्रतिस्पर्धामा भोजपुरका नवीन श्रेष्ठ र रत्न जित तामाङको जोडी फाइनल प्रवेश गरे । नवीन र रत्नको जोडीले झापाका प्रनिश सिंह ठकुरी र सुनसरीका सुजन श्रेष्ठको जोडीलाई २१ – १९, २२ – २०ले पराजित गरे । अर्को खेलमा सङ्खुवासभाका पविन लिनलेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीले सुनसरीका प्रकाश लिम्बु र सत्यम सुब्बाको जोडी माथि १० – २१, २१ – १५, २१ – १२ को जित निकाल्दै फाइनल पुगे ।
यु १७ ब्वाईज एकल प्रतिस्पर्धामा सुनसरीका सत्यम सुब्बाले जित निकाल्दै फाइनल यात्रा तय गरे । उनले खोटाङ्गका सनम राईलाई समान २१ – ८ ले पराजित गरे । यस्तै अर्को खेलमा चोदण्डीगढीका विनय चौधरीले रिटायर्ड हर्टका कारण प्रतिस्पर्धा त्यागे पछि इटहरी ब्याडमिन्टन एकेडेमीका भोजबहादुर गुरुङ फाइनल प्रवेश गरे । गल्र्स तर्फ मोरङकी रोज पाण्डे र सुनसरीकी सृष्टि चामलिङ्ग राईले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । रोजले चौदण्डी गढी नगरपालिका, बेलटारकी रोजी राईलाई २१ – १२, २१ – ९ ले तथा सृष्टिले पनि चौदण्डी गढी नगरपालिकाकी स्मृति राईलाई २१ – ७, २१ – १० ले पराजित गरे ।
गल्र्स १३ तर्फको खेलमा उपमा खड्का र निमा तामाङ फाइनल प्रवेश गरे । खड्काले रितु तामाङलाई र निमाले अंशु श्रेष्ठलाई समान २ – ० ले पराजित गर्दै फाइनल उपाधि निकट पुगेका हुन् । ब्वाईज तर्फ तयाबुङ्ग राई र मिबुङ्ग राईले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तयाले अश्बिन मोक्तानलाई र मिबुङ्गले प्रमिश राईलाई समान २ – ०ले पराजित गरे ।

Comment