स्वर्णिम युगको सङ्घारमा नेपाली भारोत्तोलन

ललितपुर को थ्री स्टार क्लबको नेपाली फुटबलमा आफ्नै उचाइ छ । साथमा थुप्रै सफलताका कथा छन् । यसै सफलताको कथामा विभिन्न पात्रको भूमिका र योगदान पनि छ । थ्री स्टार क्लबको यो सफलतामा व्यवस्थापक रामकृष्ण श्रेष्ठ‘ राम बोस’को आगमनसँगै एउटा उत्साह वर्धक युगको सुरुवात भएको थियो । ६० को दशकमा जसरी थ्री स्टारका लागि उत्साह वर्धक युगको सुरुवात भयो, त्यसरी नै राम बोसको नेतृत्वमा नेपाली भारोत्तोलन उत्साहजनक युगमा प्रवेश गरेको छ ।
बि.स २०७६ को अन्त्यमा राम बोस नेपाल भारोत्तोलन सङ्घका अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित हुँदा चीनको हुवान प्रान्त कोरोना भाइरसको महामारीमा थियो । संसारका अन्य देशमा फाटफुट असर थियो । केही समय यसले संसारलाई नै हल्लायो । यस क्रममा नेपाल पनि अछुतो रहेन । एक वर्ष पछि नेपाली समाज चलमलाउन थाले पछि भारोत्तोलन सङ्घ पनि सक्रिय रहेको छ । यसै क्रममा फागुनको २९ देखि १ चैतसम्म सप्तरीको राजविराजमा भारोत्तोलनको राष्ट्रव्यापी  च्याम्पियनसिप हुँदै छ। सप्तरी जिल्ला भारोत्तोलन सङ्घको आयोजनमा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
भारोत्तोलनका अधिकारी स्टार खेलाडीका साथमा
मातहतका सबै सङ्घलाई सक्रिय बनाउने उनको नीति अनुसार कास्की जिल्ला सङ्घले राष्ट्रिय च्याम्पियनसिपको आयोजनाको तयारी पनि गरिरहेको छ । हरेक जिल्ला सङ्घ वार्षिक कार्यक्रमको अवधारणामा अघि बढेको राम बताउँछन् । कास्कीमा  अहिले एसियन च्याम्पियनसिप खेल्ने खेलाडीको क्लोज क्याम्प पनि भइरहेको छ । उज्बेकिस्तानमा हुने सो च्याम्पियनसिपमा सञ्जय महर्जनको प्रशिक्षणमा कमला श्रेष्ठ र सञ्जु चौधरीले  सहभागिता जनाउने छन् । नेपाल ओलम्पिक कमिटीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आय ओसी)को स्करलसीप कार्यक्रम अन्तरगत यो क्याम्प भइरहेको हो । नेपाली टोलीले उज्बेकिस्तानमा प्रतियोगिता खेल्नु अघि दुई महिनाको क्लोज क्याम्पमा प्रशिक्षण पाउने छ ।
राम बोसको भारोत्तोलनमा उपस्थितिको कथा भने गजबकै छ । उनी क्योकुसीनका खेलाडी थिए । पछि उनी थ्री स्टार क्लबका व्यवस्थापक भए । खेलाडीलाई दिइने हौसला, क्लबको प्रतिको समर्पण र जिम्मेवारी बहनका कारण उनी चर्चामा आउन थाले । उनी व्यवस्थापक भए पछि थ्री स्टार लिग च्याम्पियन हुनुका साथै थुप्रै उपाधि जित्न सफल भयो ।
स्टार खेलाडीका साथमा अध्यक्ष राम
यस क्रममा उनको भेट ओलम्पियन सुनिल जोशी(हाल दिवङ्गत भइसकेका )सँग भयो । तिनै जोशीले उनलाई भारोत्तोलन खेलमा आबद्ध हुन भने । केही समय पछि नै भारोत्तोलन सङ्घको साधारण सभा पनि भयो । सो साधारण पछि उनी उपाध्यक्षमा मनोनीत भए । राम बोस यस पछि भारतमा भएको १२ औ दक्षिण एसियाली खेलकुदमा नेपाली भारोत्तोलन टोलीका व्यवस्थापक भए । सोही खेलकुदमा नेपालले एक रजत सहित तिन कांस्य पदक जितेको थियो ।
कोरोना  महामारी मानव सभ्यता माथि प्रकृतिले नै गरेको २१ औ शताब्दीको सबैभन्दा ठुलो हमला थियो । यस बिचको समयलाई पनि उनले सदुपयोग गरे । लकडाउनमा रहँदा भारोत्तोलनका बारे धेरै अध्ययन गर्ने र थुप्रै व्यक्तिसँग सम्पर्क गर्ने कामलाई उनले निरन्तरता दिइरहे । यसको उपलब्धि नेपाली भारोत्तोलनले पाउने कुरामा उनी विश्वस्त छन् ।
नेपाली खेलकुदमा एउटा ठुलो समस्या छ । माथिल्लो पदमा रहनेले अधिकतम लाभ लिने र अन्यलाई दुरुत्साहित गर्ने नेपाली खेलकुदको यो समस्या भारोत्तोलनमा नरहने कुरामा पनि सबैलाई उनी आश्वस्त तुल्याउन चाहन्छन् । ‘ मेरा लागि  विदेश जान र अन्य लाभ लिनु महत्त्वपूर्ण होइन । यसमा भौतिक र आर्थिक लगानी तथा लामो समय बिताउने सबैलाई जिम्मेवारी र अवसर दिने कुरामा म प्रतिबद्ध छु । ’ भारोत्तोलनकर्मीलाई इङ्गित गर्दै उनी भन्छन्, ‘ राम बोस भनेर तपाइहरूले साधारण सभामा देखाएको विश्वासलाई म खेर जान दिन्न ।
साथमा उनले प्रशिक्षकसँग बसेर नयाँ  योजना बनाउने सुरमा छन् । हरेक स्थानमा प्रशिक्षण स्थलको अभाव र सामान अभावका कारण प्रशिक्षक त्यत्तिकै बसेका कारण यसलाई व्यवस्थापन गर्न उनी तल्लीन छन् । हरेक जिल्लाका प्रशिक्षकलाई सक्रिय राख्ने उनको नयाँ नीति हो ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीको साथमा राम बोस, प्रशिक्षक सञ्जय र कीर्तिमानधारी भारोत्तोलक तथा केन्द्रिय सदस्य गोपाल श्रेष्ठ
अब हुने विश्व भारोत्तोलन सङ्घको साधारण सभा नेपालका लागि महत्त्वपूर्ण हुने उनको जिकिर छ । यसै साधारण सभा अगाडी नै नेपालले विभिन्न निकायसँग छलफल सुरु गरेको र सोही समयमा नेपाली भारोत्तोलनले अन्तर्राष्ट्रिय निकायबाट लाभ लिने कुरामा उनी विश्वस्त छन् ।
अहिले विभिन्न कर्पोरेट हाउससङ वार्तामा हरेका उनी नेपालमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पदक दिलाउने यो खेलको महत्त्व सबैले बुझ्दै गएकाले केही समयमै भारोत्तोलनले को पार्टनर पाउनेमा आफू विश्वस्त रहेको बताउँछन् ।
कर्पोरेट हाउससँगको सहकार्य, अन्तर्राष्ट्रिय निकायको सहयोग , सक्रिय जिल्ला र प्रदेश सङ्घ तथा प्रतियोगिता र प्रशिक्षणमा सक्रियता राम बोस कार्यकालका विशेषता रहने छन् । आशा गरौँ उनको नेतृत्वका कारण नेपाली भारोत्तोलन फरक मोडमा गएको अनुभूति केही समयमा सबैले गर्ने छन् । अनि लामो समय नेपाली खेलकुदले भारोत्तोलनमा राम बोस युगको रूपमा एउटा स्वर्णिम युगको अनुभूत गर्ने छ ।
Comment