प्रदेश १ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधवार सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले  उद्घाटन गरे । यस्तै प्रमुख अतिथि मेयर आलेले प्रतियोगिता रेफ्रि अनुप शाक्यलाई सटल कर्क हस्तान्तरण गर्दै प्रतियोगिता सञ्चालन गर्न अनुरोध प्रदान गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर आलेले खेलाडी भनेका राष्ट्रका लागि निस्स्वार्थ रूपमा योगदान गर्ने र अन्तर्राष्ट्रिय खेल क्षेत्रमा राष्ट्रको झन्डा उचाल्दै राष्ट्रको पहिचान दिने व्यक्तित्वहरू रहेको बताए । तसर्थ खेलाडीहरू जहिले पनि अनुशासनमा रहनु आवश्यक रहेको समेत उनले बताए । खेल प्रतियोगिता भनेको विजय प्राप्त गर्नु मात्र नभई भ्रातृत्व र भाइचाराको विकास गर्नु पनि रहेको भन्दै विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका खेलाडीहरूका बिच आपसी भ्रातृत्व र भाइचाराको विकास हुने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भोजपुर रहेको स्मरण गर्दै मेयर आलेले एकै घरबाट तीन राष्ट्रिय च्याम्पियन तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी भोजपुरको पहिचान गराउन सफल भएकोमा खेलाडी तथा पूर्व जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दान बहादुर तामाङलाई धन्यवाद प्रदान गर्दै कृतज्ञता व्यक्त गरे ।
यस्तै प्रतियोगितालाई सफलताको शुभकामना प्रदान गर्दै उपमेयर ममिता राईले सम्पूर्ण खेलाडीहरूलाई स्वागत गर्दै प्रतियोगितालाई सफल बनाउन शुभकामना व्यक्त गरिन् ।
विशेष अतिथिको रूपमा प्रतियोगितालाई शुभकामना व्यक्त गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले खेलको तीन खम्बा विकास अनुशासन र गतिशीलता भएको भन्दै प्रथमतः खेलाडीहरू अनुशासित हुनु पर्ने र साथ साथै गतिशील हुनु पर्ने जसले खेलको विकासमा सहयोग पुग्ने बताए । उनले प्रतियोगितामा सहभागिता जनाउन आउने सम्पूर्णलाई सुरक्षाको लागि निश्चिन्त रहन आव्हान गरे ।
कार्यक्रमका सभापति एवं आयोजक भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले ब्याडमिन्टनको इतिहासमा नै भोजपुर जिल्लाबाट सर्वाधिक राष्ट्रिय च्याम्पियनहरू उत्पादन गरेको स्मरण गर्दै जिल्लामा यति ठुलो प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेकोमा प्रमुख अतिथि मेयर र भोजपुर नगरपालिकालाई धन्यवाद प्रदान गरे । उनले अन्य नगरपालिकामा प्रतियोगिता सञ्चालन गर्न आर्थिक सङ्कलनका लागि निकै नै कठिनाइ हुने भन्दै भोजपुर नगरपालिकाका मेयरले प्रतियोगिताका लागि खर्च छुट्टाएर प्रतियोगिता आयोजना गर्न मेयर आफैले पहल गरेको बताए ।
प्रतियोगितामा पूर्वाञ्चलका १२ जिल्लाका ९९ खेलाडीहरूले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा महिला पुरुष एकल, पुरुष युगल, यु १७ र यु १३ छात्र तथा छात्रा गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुँदै छ ।
आयोजक भोजपुरका विशाल र सुभाष प्रिक्वाटरमा
भोजपुरका विशाल तामाङ भोजपुरमा जारी प्रदेश नं १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । विशालले पुरुष एकल प्रतियोगिताको पहिलो दिन सुनसरीका सत्यन सुब्बा माथि १८–२१, २३ – २१, २१ – १४ को जित निकाल्दै प्रिक्वाटरमा प्रवेश गरे । भोजपुरकै अर्का खेलाडी सुभाष तामाङ पनि प्रिक्वाटरमा स्थान बनाउन सफल भए । सुभाषले सोलुखुम्बुका संयोग सुब्बालाई २१ – १६, २१ – १९ ले पराजित गरे । यसै गरी प्रिक्वाटरमा स्थान बनाउने क्रममा सुनसरीका प्रकाश लिम्बुले मोरङका जोन जसराजलाई २१ – १४, २१ – १५ले पन्छाए । यस्तै पाँचथरका दिवस शंकरले भोजपुर दिङ्गलाका नरेन्द्र तामाङबाट, बेलटार चौदन्डिगढीका विनय चौधरीले भोजपुरका सुजन तामाङबाट, भोजपुरका सुरज रानाले भोजपुर दिङ्गलाका दावा शेर्पाबाट वाक ओभर प्राप्त गर्दै प्रिक्वाटरमा प्रवेश गरे ।
पुरुष युगल तर्फ बेलबारीका अजय चौधरी र मंदीप घले, सङ्खुवासभाका सुनिल कार्की र निशान कटुवाल, खोटाङका विजय राई र सविन श्रेष्ठ, बेलबारीका नवीन राई र लाक्पा शेर्पा, भोजपुर दिङ्गलाका लेखनाथ श्रेष्ठ र बुद्ध ताामाङ्ग तथा भोजपुरका सुरज मगर र मनोज श्रेष्ठको जोडीले पनि प्रिक्वाटरमा स्थान सुरक्षित गरे ।
ब्वाईज यु १७ तर्फ सोलुखुम्बुका संयोग बस्नेत, खोटाङका सनम राई, इटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ, ओखलढुङ्गाका विकास कटुवाल, सङ्खुवासभाका निशान कटुवाल, धनकुटाका सुजन तामाङ, बेलटारका विनय चौधरी, खोटाङका विकास खत्री, भोजपुरका युनिश राई, सोलुखुम्बुका संयोग बस्नेत, खोटाङका सनम राई, ओखलढुङ्गाका हेमन्त राई, सङ्खुवासभाका सुनिल कार्की, मोरङका जोन जसराज, खोटाङका विजय राई, बेलटारका सनिल चौधरी, खोटाङका सबिन श्रेष्ठ र सुनसरीका सत्यम सुब्बा पनि अन्तिम १६ प्रवेश गरे ।
Comment