ब्याडमिन्टनको उर्वर भूमि भोजपुरमा प्रतियोगिताको तयारी पुरा 

दामोदर अर्याल /भोजपुर
भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधवार सुरु हुने भएको छ ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भई सकेको छ । प्रतियोगिताका लागि रेफ्रि अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तर्राष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाले सोमबार नै भोजपुर पुगेका छन् ।
प्रतियोगितामा पूर्वाञ्चलका शीर्ष बरीयताका रत्न जित तामाङ सहित नवीन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिवस शङ्कर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरीको पनि सहभागिता रहने छ । यो रत्न जितको गृह जिल्ला पनि हो । यस्तै भोजपुरमै रहेकी शीर्ष वरियताकी नङ्गशल तामाङको पनि सहभागिता  रहने छ ।  धेरै लामो समय देखि घरायसी कारण प्रतियोगितामा उपस्थित हुन नसकेका पूर्व राष्ट्रिय खेलाडी विवेक श्रेष्ठ, विशाल तामाङ लगायत खेलाडीहरू आफ्नै स्थानमा प्रतियोगिता हुन लागेको र सहभागिता जनाउन पाउने कारण हर्षित भएका छन् । धेरै लामो समय देखि घरायसी कारणले प्रतियोगितामा सहभागिता जनाउन नपाई रहेको अवस्थामा आफ्नै जिल्ला त्यसमाथि आफ्नै घर नजिक प्रतियोगिता हुन लागेकोले आफ्नो खेल कुशलता प्रदर्शन गर्न पाउँदा निकै उत्साहित भएको  विवेकले बताए ।
पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठको नेतृत्वमा राष्ट्रिय च्याम्पियन विवेक श्रेष्ठ, नवीन श्रेष्ठ राष्ट्रिय खेलाडीहरू सहित ऊर्जाशील युवाहरू सम्मिलित निर्वाचित जिल्ला सङ्घले पहिलो पटक जिल्लामा यति ठुलो प्रतियोगिता आयोजना गर्न गइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूका साथै सरादेवी तामाङ, विकास श्रेष्ठ, नङ्गशल तामाङ, विवेक श्रेष्ठ, रत्न जित तामाङ, नवीन श्रेष्ठ जस्ता राष्ट्रिय च्याम्पियनहरू उत्पादन गरेको भोजपुरमा ठुला प्रतियोगिताहरू नभई रहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताले खेलाडी उत्पादनमा निकै नै सहयोग पुग्ने भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले बताए । भोजपुरमा खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले हामीले पहिलो पटक जिल्ला भित्रका मात्रै यु १३ को ब्वाईज र गल्र्सको प्रतियोगिता पनि हुने भएको छ
बालबालिकालाई खेलाडीहरूलाई ब्याडमिन्टन खेल प्रति उत्साहित गर्दै भोजपुरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले यु १३ को ब्वाईज र गल्र्सको प्रतियोगितालाई पनि समावेश गरेको श्रेष्ठले जानकारी दिए ।
सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ र यु – १३ ब्वाईज तथा र्गल्स, गरी ९० खेलाडीहरूले  कुल ७ विधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठको नेतृत्वमा राष्ट्रिय च्याम्पियन र युवाहरू सम्मिलित जिल्ला सङ्घले भोजपुरको मान सम्मानलाई उच्च बनाउन गरेको प्रयास सार्थक तुल्याउन  प्रतियोगितालाई प्रायोजन गरेको मेयर कैलाश कुमार आलेले बताए ।
करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ  पाउने छन् । यसै गरी, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय तथा  महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाउने छन् ।  यु – १७ ब्वाइज तथा र्गल्स तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यु १३ का खेलाडीहरूलाई प्रोत्साहन स्वरूप शीर्ष तीनका खेलाडीहरूले नगद ५ हजार, ३ हजार र १५ सय सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न सङ्घ संस्था, देश तथा विदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरूको सहयोग रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए । प्रतिगोयतालाई नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग रहने छ ।
Comment