भट्टराईको  नाममा हाफ म्याराथन हुने

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बाग्मती प्रदेशले पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराईको नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक एवं केन्द्रीय सदस्य दीपक गुरुङले चैत्र २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७ आयोजना गर्न लागिएको जानकारी गराए । समग्र नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको विज्ञप्तिमा जनाइएको छ । प्रतियोगितालाई भविष्यमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको रूपमा रूपान्तरित गर्दै जाने र नव खेलाडी उत्पादनलाई समेत जोड्दै जाने संयोजक गुरुङले बताए ।
करिब ९ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा विजयी शीर्ष तीन खेलाडीहरूले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ५÷५ हजार प्राप्त गर्नेछन् ।
नव खेलाडीहरू उत्पादन गर्ने उद्देश्य रहेको तर प्रतियोगितालाई सिनियर प्रतियोगिताको रूपमा किन सञ्चालन गर्न लागिएको भन्ने पत्रकारको जवाफमा संयोजक गुरुङले पहिलो प्रतियोगिता भएकोले नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई प्रचार प्रसार गर्ने र छोटो समयमा नै प्रतियोगिताको व्यवस्थापन गर्न सकिने भएकाले सिनियर प्रतियोगितालाई आयोजना गर्न लागिएको र भविष्यमा जुनियर प्रतियोगितालाई पनि सञ्चालन गर्दै जाने उद्देश्य रहेको बताए ।
म्याराथन  गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै  धुम्बाराही चोक, चाबहिल, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी, जय नेपाल हल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, नारायण गोपाल चोक, बुढानीलकण्ठ प्रहरी बिट हुँदै पुनः सोही स्थानमा आएर समापन हुने कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन, केन्द्रीय सचिव  मनिष राम जोशी र बखत बहादुर शाही, केन्द्रीय सदस्य राजु विक्रम थापा, कुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
Comment