हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप वैशाख पहिलो साता

मार्सल आर्ट्स हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप वैशाखको पहिलो साता काठमाडौँमा हुने भएको छ । नेपाल मार्सल आर्ट्स हाप्किडो एसोसिएसनले बुधवार प्रतियोगिताबारे जानकारी दिएको हो ।
आगामी४–६ वैशाखमा हुने प्रतिस्पर्धामा सातै प्रदेशबाट खेलाडी सहभागी हुने बुधवार ठमेलस्थित होटेल आर्ट्समा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिए ।
प्रतिस्पर्धामा फाइट तर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ  । आयोजकका अनुसार प्रतिस्पर्धामा २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७०–७५ तौल समूहमा प्रतिस्पर्धा हुने छ । यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल  र लङ फलमा पनि प्रतिस्पर्धा हुने छन् ।
‘कोरोना महामारीले खेलकुद गतिविधि हुन पाएन । अहिले भाइरस प्रभाव केही कम भएको महसुस भएको छ । त्यसैले हामीले फेरि खेलाडीहरूलाई चलायमान बनाउने उद्देश्यले प्रतियोगिताको तयारी गरेका छौँ’, पत्रकार सम्मेलनमा अध्यक्ष घर्ती मगरले भने, ‘अब खेलाडीहरूका लागि बिस्तारै प्रतियोगिता बढाउँदै जाने छौँ ।’
सङ्घले यसअघि आफ्नो पहिलो राष्ट्रिय च्याम्पियनसिपको रूपमा रोल्पामा शहीद स्मृति हाप्किडो च्याम्पियनसिपको आयोजना गरेको थियो । यस्तै, कोरोना महामारीका कारण दोस्रो र तेस्रो राष्ट्रिय च्याम्पियनसिप भने भर्चुअल गरेको थियो ।सङ्घले प्रतिस्पर्धाका विजेता खेलाडीहरूलाई आर्थिकसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जनाएको छ ।
आयोजकले प्रतियोगितामा सहभागी हुन आउने सबै खेलाडीको यातायातदेखि बस्ने र खाने व्यवस्था सङ्घले नै गर्ने जनाएको छ । खेलाडीको सहभागिता समेत निःशुल्क गरिएको प्रतियोगिता आयोजनाका लागि अनुमानित ६० लाख खर्च लाग्ने सङ्घका अध्यक्ष घर्ती मगरले जनाएका छन् ।
Comment