डिएससी काठमाडौंको दोस्रो जित


टिम डिएससी काठमाडौंले द अरनिको ट्रफी २०२१ को दोस्रो एक दिवसीयमा पनि जित हात पारेको छ । ५० ओभरको एक दिवसीय खेलमा डिएससीले गण्डकी प्रदेश माथि दोस्रो जित हात पारेको डिएससीका प्रशिक्षक नवीन जोशीले जानकारी गराएका छन् । पहिलो एक दिवसीयमा २ विकेटको जित हात पारेको डिएससी काठमाडौंले दोस्रोमा ६ विकेटका जित हात पारेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेशले १९.३ ओभर खेल्दै ४७ रनमा सबै विकेट गुमाएको थियो । गण्डकीका लागि अञ्जली बि.क.ले १७ बल खेल्दै ९ रन जोडेकी थिइन् । यस्तै अर्की खेलाडी जोश्निका मरासिनीले ३४ बल खेल्दै ९ रन जोडिन् । बलिङतर्फ डिएससीकी अश्मिना कर्माचार्यले ५.३ ओभरमा १ मेडनका साथ २० रनमा ४ विकेट लिइन् । यस्तै निशा भोलोन तामाङले ५ ओभरमा ३ मेडनका साथ २ रन ३ विकेट र राजमती ऐरले ५ ओभरमा ६ रन खर्चँदै २ विकेट झारिन् ।


४८ रनको लक्षका साथ मैदान प्रवेश गरेको डिएससीले १३.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष भेटायो । जसमा खुसी डङ्गोलले २८ बलमा १७ रन जोडिन् भने हेलिशा गुरुङ ६ बलमा ९ र अस्मिता खरेल ३७ बलमा ९ रनमा नकआउट रहे । बलिङ तर्फ गण्डकीकी अलिशा लामिछानेले ७ ओभरमा २ मेडन राख्दै १५ रनमा ३ विकेट लिइन् भने शिला रेग्मीले ४.१ ओभर बलिङ गर्दै २२ रन खर्चँदै १ विकेट लिइन् ।
डिएससीकी अश्मिना कर्माचार्य प्लेयर अफ दि म्याच घोषित भइन् । ६ एक दिवसीय सिरिजमा डिएससी काठमाडौं २ – ० ले अग्रता लिएको छ ।

Comment