नेपाल व्यायाम मन्दिरको साधारण सभा सम्पन्न

नेपालकै ज्येष्ठ खेलकुद संस्था नेपाल व्यायाम मन्दिरको वार्षिक साधारण सभा शनिवार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
कोभिड १९ का कारण अघिल्लो वर्ष हुन नसकेको १९ औँ साधारण सभालाई समेत समेट्दै १९ औँ र २० औँ साधारण सभाको रूपमा भएको साधारण सभाले संस्थालाई चुस्त दुरुस्त राख्दै प्रजातान्त्रिक रूपमा अघि बढ्ने उद्देश्यले विधानमा रहेको विभिन्न बाधा अवरोधलाई हटाई परिमार्जन गर्ने निर्णय गर्दै विधानमा संशोधन गर्ने निर्णय गरेको छ । यस्तै साधारण सभाले महासचिव सूर्य प्रसाद जोशीद्वारा प्रस्तुत वार्षिक कार्य प्रगति विवरण र आगामी योजना तथा कोषाध्यक्ष प्रशान्त सिंहद्वारा प्रस्तुत आर्थिक वर्ष ०७५÷७६ र ०७६÷०७७ को आय व्ययलाई प्रश्नोत्तर र छलफल बाट अनुमोदन गरेको छ । यसै गरी व्यायाम मन्दिरले संस्थाको मानार्थ सदस्यहरूलाई मनोनयन गरिएकोमा उक्त निर्णयलाई समेत भेलाले अनुमोदन गरेको छ । लामो समय देखि नेपाल व्यायाम मन्दिरको विकास र बिस्तारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएका व्यवसायी तथा समाजसेवी विद्या सागर तुलाधर, टेली टकका कार्यकारी प्रमुख सञ्जय अग्रवाल, डाईट नेपालका प्रबन्ध निर्देशक निशान्त प्रधान, फिटनेस च्वाईसका प्रबन्ध निर्देशक उत्तम सिलवाल, ब्रिटिस गोर्खाली सेभिङ्ग एन्ड क्रेडिटका चेयरम्यान जनम लामा, कामनपा २७ वडाका सदस्य तथा समाजसेवी नरेश महर्जन, व्यवसायी तथा समाजसेवी राज कुमार तण्डकार र इचङ्गु का पूर्व वडा ७ का अध्यक्ष हरि कृष्ण लामालाई मानार्थ सदस्यमा मनोनयन गरिएको प्रमाण पत्र प्रदान गरिएको थियो ।
नेपाल व्यायाम मन्दिरको ज्याठास्थित आफ्नै हलमा भएको साधारण सभाको कार्यक्रममा संस्थालाई विभिन्न माध्यमबाट विकास र विस्तारमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विभिन्न ब्यक्तित्वहरुलाई नगद सहित सम्मान गरेको छ । जसमा लाईफटाईम अचिभमेन्ट अवार्डबाट सञ्चालक समितिका सदस्य द्वय गोविन्द चित्रकार र वर्ण बहादुर श्रेष्ठलाई नगद ५५ हजार ५ सय ५५ का साथ दोसल्ला र सम्मान पत्र बाट सम्मान गरिएको छ । यसै गरी खेलाडीहरू राम बहादुर दाहाल र रजनी श्रेष्ठलाई नगद ४० हजार, डेभिड बलामी र सरोज श्रेष्ठलाई नगद १० हजार, टिम व्यवस्थापक मनोज श्रेष्ठ र व्यायाम मन्दिरका सहयोग विजय रत्न बज्राचार्यलाई नगद ७ हजार सहित सम्मान पत्रले सम्मान गरेको छ ।
नेपाल व्यायाम मन्दीको नियमित सम्मानको रूपमा रहेको सन्तति कदर पत्रबाट टोल प्रतिनिधि तथा नेपाल व्यायाम मन्दिरको साधारण सदस्य श्री त काजी प्रजापतिकी सन्तति सुपुत्री रोजिना प्रजापति महर्जनलाई सम्मान गरिएको छ ।
साधारण सदस्य मध्येबाट सञ्चालक समितिले कोषाध्यक्ष  प्रशान्त सिंहलाई विशेष सम्मान गरेको छ ।
खेलकर्मी पत्रकार सम्मानित
नेपाल व्यायाम मन्दिरले साधारण सभाका दौरान खेल पत्रकारलाई पनि सम्मान गरेको छ । खेल पत्रकारिताको माध्यमबाट व्यायाम मन्दिरले गर्दै आएको विभिन्न क्रियाकलापका साथै शारीरिक सुगठनमा राष्ट्रकै उच्च सम्मानित सहिद धर्मभक्त माथेमाको नाममा रहेको धर्म श्रीको प्रचार प्रसारलाई निरन्तरता प्रदान गर्दै नेपाल व्यायाम मन्दिरको विकास र विस्तारमा गर्दै आएको योगदानको मूल्याङ्कन गर्दै समाचार पत्रका खेल सञ्चारकर्मी  कविरस शर्मा र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका दामोदर अर्याललाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधानले सम्मान पत्र प्रदान गरेका थिए ।
Comment