तेस्रो महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुने

नेपाल  तेक्वान्दो सङ्घ महिला सशक्तीकरण समितिको आयोजनमा तेस्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७७ सुर्खेतमा आयोजना हुने भएको छ ।
फागुन २४ र २५ गते हुने प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरूले सहभागिता जनाउने आज पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाली महिला खेलाडीहरूलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र उनीहरूको कला कौशल निखार्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा एसियन र दक्षिण एसियाली खेलकुदमा सहभागी खेलाडीहरूलाई भाग लिन दिइएको छैन ।  प्रतियोगिता विश्व तेक्वान्दो महासङ्घ र नेपाल तेक्वान्दो सङ्घको नियममा खेलाइने छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने प्रतियोगितामा विश्व तेक्वान्दो महासङ्घले निर्धारण गरेको आधिकारिक तौल समूहमा जुनियर, सिनियर तथा पुम्सेका सबै समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य, नेपाल तेक्वान्दो सङ्घका सदस्य एवं महिला सशक्तीकरण समितिकी संयोजक नन्दा बस्यालले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
करिब ४५ लाख ३३ हजार अनुमानित खर्च रहेको प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले नगद तीन, दुई र एक हजार प्राप्त गर्नेछन् । यस्तै शीर्ष तीन टिमले नगद १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै जुनियर तथा सिनियर विधाका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा संयोजक नन्दा बस्यालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
Comment