पोखरामा चौथो वृहत् खेलकुद महोत्सवको तयारी

पोखरा
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा रड्डशालामा यही फागुन १५ गतेदेखि चौथो वृहत् खेलकुद महोत्सव हुने भएको छ।
झण्डै एक महिनासम्म सञ्चालन हुने सो महोत्सवमा तीन हजार जना खेलाडी सहभागी हुने सोमबर पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। महोत्सवमा १५ वटा खेलको लागि उक्त खेलाडी प्रतिस्पर्धा गर्ने  समितिका अध्यक्ष सुमन देवकोटाले जानकारी दिए।
महोत्सवमा सात सय ५० जना अफिसियल रहने भएको छ भने सो महोत्सव सम्पन्न गर्न करिब १० लाख लाग्ने भएको देवकोटाले बताए। थ्रिसिस्टर अन्तर गाविसस्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिता, क्लबस्तरीय फुटबल, नगर वडास्तरीय बास्केटबल, खुल्ला टेवलटेनिस, सिनियर तथा जुनियर कराँते, तेक्वान्दो, उसु, केन्पोकाई कराँते, फुलकन्ट्याक कराँते, शारीरिक सुगठन, साईकिलिङ ¥यालीसहितको प्रतियोगिता, ५ किलोमिटर जुनियर तर्फको दौड, जिल्लास्तरीय आर्चरी, विद्यालयस्तरीय ह्याण्डबल र अन्तरक्लब तथा यु–१६ को ब्याडमिन्टन प्रतियोगिता हुने समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए।
वृहत् खेलकुद महोत्सवअन्तर्गत खेल पत्रकारको स्तर वृद्धि तथा नयाँ खेल पत्रकार उत्पादन गर्ने उद्देश्यले चैतको पहिलोहप्ता तीन दिने खेल पत्रकारिता तालिम समेत आयोजना गरिने अध्यक्ष देवकोटाले जानकारी दिए। महोत्सव सम्पन्न पार्न राखेपबाट तीन लाख १६ हजार प्राप्त भएको समितिले जनाएको छ।

Comment