खेलाडी परिवारको सहयोगार्थ फुटसल


स्वयम्भू क्लबका पूर्व फुटबल खेलाडी स्व. विपिन शर्माको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले एक दिने फुटसल प्रतियोगिता हुने भएको छ ।
साहस स्पोर्ट्सको आयोजनामा विपिन शर्मा स्मृति कप खुला फुटसल शनिवार हुन लागेको हो । प्रतियोगितामा करिब ३२ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
विजेताले ७५ हजार ५ सय ५५ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने सह–संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।
प्रतियोगिताका खेलहरू स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा हुने छ । मेडिकल पार्टनरका रूपमा शुभेच्छा अस्पताल, सीता पाइला रहेको छ ।

Comment