देशव्यापी टेबल टेनिसलाई भ्याली कन्स्ट्रक्सनको साथ

स्पिन इभेन्ट्स प्रा।लि। को आयोजनामा हुने देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितालाई भ्याली कन्स्ट्रक्सन प्रा।लि। ले मुख्य प्रायोजन गर्ने भएको छ ।
स्पिनका अध्यक्ष सुमन शाक्य र भ्यालीका प्रबन्ध निर्देशक रवीन्द्र महर्जनले सो सम्बन्धी सम्झौता पत्रमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गरे । सम्झौता अनुसार भ्यालीले प्रतियोगिता आयोजनाका लागि लाग्ने कुल बजेटको ५० प्रतिशत रकम उपलब्ध गराउने छ । प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख ५० हजार खर्च हुने स्पिनका अध्यक्ष शाक्यले जानकारी गराए । सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न लागिएको प्रबन्ध निर्देशक महर्जनले बताए ।
सोही अवसरमा प्रतियोगिताको सह–प्रायोजकमा पूर्ण शंकर श्रेष्ठ, सम्झना लेबोरेटरी र बाबु रत्न कन्स्ट्रक्सन रहेको जानकारी दिइयो ।
प्रतियोगिता चैत २ देखि ७ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदै छ । ६ स्पर्धा समावेश प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, भेट्रान सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा पुरुष÷महिला टिम इभेन्टमा खेल हुने छ ।
सिंगल्समा शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । भेट्रानतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
अखिल नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्द राज वैद्यले प्रतियोगितामा सङ्घको प्राविधिक सहयोग रहने बताए ।
Comment