मध्यपुर थिमीमा कराँते एकेडेमी

नेपाल सितोरियो सोबुकान कराँते डो सङ्घले मध्यपुर कराँते एकेडेमी सञ्चालनमा ल्याएको छ । मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गा हातामा एकेडेमी निर्माण गरिएको हो ।
एकेडेमीका बारेमा प्रकाश पार्दै कोषाध्यक्ष सनिश श्रेष्ठले सोही हातामा पहिले कराँतेको ट्रेनिङ हल पनि निर्माण गरिएको जानकारी दिँदै सहयोगका लागि मध्यपुर थिमी नगरपालिकालाई धन्यवाद दिए । एकेडेमी र ट्रेनिङ हलका लागि करिब ८० लाख खर्च हुने बताउँदै अझै केही काम बाँकी रहेको बताए ।
मध्यपुर थिमी नगरपालिका वडा ४ को वप्पास्थित निर्माण गरिएको एकेडेमी भवन ४२ फिट लम्बाइ र ३२ फिट चौडाइ रहेको छ । २ वटा भवनलाई सिनियर र जुनियर खेलाडीका लागि प्रयोग गरिने बताइएको छ ।
मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले एकेडेमीको एक कार्यक्रमबिच उद्घाटन गरे । उनले आफू पनि पूर्व खेलाडी भएकाले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखेले एकेडेमी स्थापन गर्ने कार्यको प्रशंसा गर्दै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । एकेडेमीका अध्यक्ष सजन श्रेष्ठले सबैको साथ र सहयोगले निर्माण सम्भव भएको बताए ।
Comment