दीपेश र जेशिकालाई  प्रधानमन्त्री कप

एपिएफका दीपेश धामी चितवनमा सम्पन्न भएको योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् । निकै नै प्रतिस्पर्धी खेलमा धामीले २१-१९, २२ – २० को जितका साथ उपाधि उचालेका हुन् ।
महिला एकलको उपाधि एपिएफकी जेशिका गुरुङले उचालेकी छिन् । चितवन ब्याडमिन्टन सङ्घ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला तर्फ एपिएफकी जेशिका गुरुङले जितको निरन्तरतालाई कायम राखेकी छिन् ।  जेशिकाले जित निकाल्ने क्रममा  २१ – १८, १७ – २१, २१ – १७ ले रसिलालाई पन्छाएकी थिइन् ।
महिला तथा पुरुष एकल स्पर्धाका विजेता खेलाडीहरूले नगद १ लाख १५ हजार प्राप्त गरे । यस्तै दोस्रोले ५५ हजार र तेस्रो हुने दुईले १५ – १५ हजारका दरले प्राप्त गरे । यसै गरी विजयी सबैले ट्रफी  प्रमाण पत्र र मेडल प्राप्त गरे ।
राष्ट्रिय २० वरीयता भित्रका खेलाडीहरूको बिच भएको पुरुष युगल तर्फ सेनाका नवीन श्रेष्ठ र रत्न जित तामाङको जोडी विजयी भयो । फाइनलमा नवीन र रत्नको जोडीले एपिएफका दीपेश धामी र गौतम कठायतको जोडीलाई २१ – ११, २१ – १५ ले पराजित गर्दै आफ्नो साख जोगाए । करिब ४० लाख लागत रहेको प्रतियोगितामा विजयी खेलाडीहरूले नगद ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले ८ – ८ हजार प्राप्त गरे ।
सेनाका सुरो महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा विजयी भएका छन् । महर्जन र लिनथेपको जोडीले फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१ – १५, २१ – १९ ले पराजित गर्दै राष्ट्रिय २० वरीयता बाहेकका खेलाडीहरूका बिच भएको प्रतिस्पर्धाको ट्रली उचालेका हुन् । विजयी खेलाडीहरूले ५० हजार सहित मेडल, ट्रली र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी खेलाडीहरूले २५ हजार र तेस्रो हुनेले दुई जोडीले ७ । ७ हजार सहित मेडल, ट्रली र प्रमाण पत्र प्राप्त गरे । विजयी खेलाडीहरूलाई नेपाल ब्याडमिन्टन सङ्घका सदस्य जीवन गिरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य चन्द्र बदना राईले पुरस्कार वितरण गरे ।
ब्वाईज यु १७ तर्फको खेलमा सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१ – १७, २१ – १६ ले पराजित गर्दै उपाधि उचाले । गल्र्स तर्फ भने सेनाकी रसिला महर्जनले जित हात पार्दै उपाधि कब्जा गरिन् । उनले कैलालीकी प्रार्थना देउवालाई २१ – १५, २१ – १० ले पराजित गरिन् । विजयी खेलाडीहरूले नगद ३० हजार प्राप्त गरे । उपबिजयी खेलाडीहरूले १५ हजार र तेस्रो हुनेले ५ । ५ हजार प्राप्त गरे । यसका साथै खेलाडीहरूले मेडल, प्रमाण पत्र र ट्रली प्राप्त गरे ।
यस्तै ५५ वर्ष माथिको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन सङ्घका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधि चुमे । चौधरी र श्रेष्ठको जोडीले बागलुङका राजेन्द्र शाक्य र धादिङका विष्णुलाल श्रेष्ठको जोडी लाई १२ – २१, २१ – १५, २१ – १४ ले पराजित गरे । विजयी खेलाडीहरूले नगद ३० हजार प्राप्त गरे । उपबिजयी खेलाडीहरूले १५ हजार र तेस्रो हुनेले ५ । ५ हजार प्राप्त गरे ।
पुरुष ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पूर्णहरि होना र सञ्जय कपालीको जोडीले विजय पाए । होना र कपालीको जोडीले कैलालीका वीरेन्द्र सिंह विष्ट र बाँकेका अनिल लाखेको जोडीलाई २१ – १३, २१ – १४ ले पराजित गर्दै उपाधि उचालेका हुन् । विजयी खेलाडीहरूले नगद ३० हजार प्राप्त गरे । उपबिजयी खेलाडीहरूले १५ हजार र तेस्रो हुनेले ५ । ५ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई राखेप सदस्य चन्द्र बदना राई, पूर्व राखेप सदस्य हरकसिंह धामी, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष जी नारायण क्षेत्री, सदस्य जीवन गिरी लगायतले पुरस्कार वितरण गरेका थिए ।
एनआरएन खेलाडीहरू सम्मानित
दुबईबाट योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन आएका दुबई एनआरएन खेलाडी द्वय सानिया चन्द र साहिल चन्दलाई आयोजकले सम्मान गरेको छ । खेलाडी द्वयलाई राखेप पूर्व सदस्य हरकसिंह धामीले खादा तथा प्रमाण पत्रबाट सम्मान गरेका हुन् ।
Comment