न्यु डाइमन्डकी प्रतिभा र पुलिसका ईम सम्मानित

प्रतिभा माली र ईम बहादुर राना मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट आइतबार सम्मानित भएका छन् ।
नेपाल भलिबल सङ्घले नक्सालस्थित क्राउन प्लाजामा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्मानित खेलाडीहरूलाई सम्मान गरे ।
नेपाली महिला भलिबल टिमकी सदस्य एवं मुख्य खेलाडी प्रतिभालाई उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तथा  गत वर्ष नेपालमा आयोजनामा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक प्राप्त गर्दा गरेको उल्लेखनीय प्रदर्शनको मूल्याङ्कन गर्दै सम्मान गरिएको कदर पत्रमा जनाइएको छ । उक्त प्रतियोगितामा नेपाली टोली विजयी नजिक हुँदा थोरै समय सम्हालिन नसक्दा स्वर्ण बाट वञ्चित भएको थियो ।
यस्तै नेपाली पुरुष भलिबल टिमका कप्तान ईम बहादुरलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उच्च प्रदर्शन तथा २०१७ मा मालदिभ्समा आयोजना भएको तेस्रो एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल टुर्नामेन्टमा नेपाली टिमको कप्तानका साथै उच्च प्रदर्शनका साथ कास्य पदक प्राप्त गर्न खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको कदर पत्रमा जनाइएको छ ।
सम्मानित खेलाडी द्वयले जनही नगद ३५ हजार सहित कदर पत्र र ट्रफी प्राप्त गरे । नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्थापना गरेका १० लाखको अक्षय कोषबाट प्राप्त हुने रकमबाट भलिबलका महिला र पुरुष दुई खेलाडीलाई प्रत्येक वर्ष नेपाल भलिबल सङ्घले सम्मान गर्दै आइरहेको छ ।
सम्मानित प्रतिभा न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीकी उत्पादन हुन् । यसै गरी, इम लामो समय देखि पुलिस क्लबमा आबद्ध रहेका छन् ।  लीफ्टरको रूपमा उनले थुप्रै घरेलु प्रतियोगिताको उपाधि पनि आफ्नो टोलीलाई दिलाइसकेका छन् ।
Comment