हाइ स्पिड किकमा भुपेन र काजलको सान


नेपालका भुपेन श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोको हाइ स्पिड किकको पुरुष सिनियरतर्फ पहिलो भएका छन् ।
कोटेश्वर, मूलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलले आयोजना गरेको प्रतियोगितामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेनले ७.५० अङ्क जोडे । नेपालका सक्षम कार्की दोस्रो तथा सागर गुभाजु र वीरबहादुर महरा तेस्रो भए । सक्षम र वीर पनि १३ औँ सागका स्वर्णधारी हुन् ।

उक्त स्पर्धाको महिलामा १३ औँ सागकी स्वर्ण विजेता नेपालकी काजल श्रेष्ठ ७.१० अंकसाथ पहिलो भइन् । नेपालका रेश्मा थापा दोस्रो तथा वर्षा थापा र नम्रता तुलाधर तेस्रो स्थानमा रहे ।
पारातर्फ पुरुषको यु–३० मा नेपालका विक्रम श्रेष्ठ, १८–२३ वर्षमा नेपालका सुवासचन्द्र राई, यु–१८ मा बुरुन्दीका हाकीजीमाना लेभिन, यु–१८ को बहिरातर्फ थाइल्यान्डका कित्तिवात नाम्चेङ र १८–२३ वर्षको बहिरामा थाइल्यान्डका नार्टले शीर्ष स्थान हात पारे ।
जुनियर पुम्सेको ब्ल्याकवेल्टतर्फ पुरुषमा मकाउका चेङ लोक इन र महिलामा मलेसियाकी सेह जिङ याङ, रेड बेल्टतर्फ पुरुषमा मकाउका लि लो होङ र महिलामा नेपालकी मुना तामाङ, ब्लु बेल्टतर्फ पुरुषमा भारतका विलाल रियाज र महिलामा नेपालकी स्मृति नेपाली, ग्रिन बेल्टतर्फ पुरुषमा नेपालका सन्देश अधिकारी र महिलामा पाकिस्तानकी हदिया नाइन तथा यल्लो बेल्टतर्फ पुरुषमा बङ्गलादेशका मोहम्मद अन्नाफे इस्लाम र महिलामा थाइल्यान्डकी कन्या कोर्न कान्खेरम पहिलो भए ।

पुरुषमा इरानका हेसाइम अल्होइ र महिलामा मेक्सिकोकी मातियो उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १ सय अमेरिकी डलर नगद पुरस्कार जिते । पुरुषको पुरस्कार तिलक  लामा र महिलाको गणेश थापाले प्रायोजन गरेका हुन् । दुवै तेक्वान्दोका पूर्व खेलाडी हुन् । ‘मोस्ट पपुलर प्लेयर’ को नाम फेब्रुअरी १ तारिखमा सार्वजनिक गरिने छ । विजेताको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिने छ । विजेतालाई युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङद्वारा प्रायोजित १ सय ५० अमेरिकी डलर प्रदान गरिने छ ।
प्रतियोगितामा ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीले सहभागिता जनाएको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश थिए । हाइ स्पिडको प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको छ ।
Comment