नेपाल ओपनमा पारा विधा थप


नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा फरक क्षमता भएका खेलाडीका लागि पारा विधा पनि थप गरिएको छ । यसअघि पुम्से र हाइ स्पिड किक मात्र राखिएकोमा पारा खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले पारा विधा पनि थपिएको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।
श्रेष्ठका अनुसार नेपाल, थाइल्यान्ड, मेक्सिको, भेनेजुएला र बुरुन्डीबाट ११ खेलाडी सहभागी हुने छन् । सबैको दर्ता शुल्क निःशुल्क गरिएको छ ।
कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूल पानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता माघ १३ र १४ गते हुँदै छ । प्रतियोगितामा ३१ राष्ट्रबाट १ हजार ३ सय १५ खेलाडीको सहभागिता निश्चित भइसकेको आयोजकले जनाएको छ ।
कोटेश्वर तेक्वान्दो डोजसङबाट सञ्चालन हुने प्रतियोगिताको पुम्सेतर्फ ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । ५ नेपाली र ७ विदेशी गरी १२ निर्णायकले प्रतियोगिता सञ्चालन गर्ने छन् । प्रतियोगिताको तयारी लगभग पूरा भएको संयोजक श्रेष्ठले जानकारी दिए ।

Comment