नवीन,नोर्बु ,आयशा र रवीन्द्र सम्मानित


सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो सङ्घ बाग्मती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड– २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बाग्मती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री तामाङलाई कार्यकाल सफलताका लागि शुभकामना दिँदै प्रशंसा पत्र प्रदान गरे ।
सोही अवसरमा नवीन र आयशालाई बाग्मती प्रदेश र सुमेरु ग्रुपले छुट्टाछुट्टै प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । उनीहरूलाई खेलकुद मन्त्री दावा तामाङ, बाग्मती प्रदेशका अध्यक्ष पुरी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले प्रशंसा पत्र प्रदान गरे ।
नवीन तेक्वान्दोका प्रमुख प्रशिक्षक तथा आयशा नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ दोहोरो स्वर्ण विजेता हुन् । १३ औँ सागमै नवीन नेपाली राष्ट्रिय तेक्वान्दो टोलीको प्रमुख प्रशिक्षक थिए । १३ औँ सागमा नेपालले तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो । तेक्वान्दोमा सहभागी सबै २९ खेलाडीले पदक चुमेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री तामाङले सबै मिलेर खेलकुदमा रहेका समस्यालाई समाधान गर्नु पर्नेमा जोड दिँदै खेलाडीको रोकिएको प्रोत्साहन भत्ता निकासा गरिसकेको जानकारी गराए । उनले १३ औँ सागका स्वर्ण विजेता खेलाडीको प्रोत्साहन भत्ता पनि निकासाका लागि खेलकुद मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए ।
बाग्मती प्रदेशका अध्यक्ष पुरीले राष्ट्रिय खेल सङ्घले हासिल गरेको उपलब्धि र क्रियाशीलताका आधारमा सङ्घहरूको वर्गीकरण गरी सहयोग गर्नु पर्ने आवश्यकता औँल्याए ।

सुमेरुका अध्यक्ष महर्जनले १४ औँ सागमा स्वर्ण जित्ने खेलाडीलाई २ लाख नगद पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सेकेन्ड क्लास रेफ्रीमा उत्तीर्ण हुन सफल पुम्सेका नोर्बु लामा र ग्योरोगीका रवीन्द्र मल्ललाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

Comment