स्नुकर लिजेन्डको स्मृतिमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हुँदै

बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता २८ माघ देखि हुने भएको छ ।
नेपाली स्नुकरमा खेलाडी सहभागिताको सङ्ख्या र नगद पुरस्कारका हिसाबले यो अहिलेसम्मकै ठुलो प्रतियोगिता भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजन लामाले जानकारी गराए । प्रतियोगितामा विभिन्न ५० जिल्लाबाट २ सय ५६ खेलाडीको सहभागिता रहने जानकारी दिइयो ।
प्रतियोगितामा सर्वाधिक १ सय ४७ अङ्क ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार प्रदान गरिने छ । सेन्चुरी ब्रेककर्तालाई २ लाख १ हजार तथा सर्वाधिक ब्रेककर्तालाई २१ हजार ५ सय नगद पुरस्कार दिइने छ । उत्कृष्ट खेलाडीले ११ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
विजेताले २ लाख ११ हजार ५ सय तथा उपविजेताले ९१ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउने छन् । तेस्रो हुने दुई खेलाडीले ३० हजार ५०० रुपैयाँ तथा क्वाटरफाइनलिस्ट चार जनालाई जनही १० हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । प्रिक्वाटरफाइनलिस्टलाई  गिफ्ट ह्याम्पर स्वरूप किउ र किउ बक्स प्रदान गरिने छ ।
त्यस्तै उदीयमान खेलाडी तथा अनुशासित खेलाडीलाई ११ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख ५ सय खर्च हुने संयोजक लामाले बताए ।
प्रतियोगितामा नेपाल बिलियर्ड, स्नुकर तथा पुल सङ्घको प्राविधिक सहयोग रहने सङ्घका अध्यक्ष समेत रहेका चार पटकका स्नुकर राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीले जानकारी दिए । प्रिक्वाटरफाइनल वेस्ट अफ नाइन, क्वाटर फाइनल वेस्ट अफ ११, सेमिफाइनल वेस्ट अफ १३ र फाइनल वेस्ट अफ १५ का आधारमा खेलाइने छ । त्यसअघिका खेलहरू वेस्ट अफ ५ का आधारमा हुने छ । प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने अध्यक्ष मुल्मीले बताए ।
२२ फागुनसम्म चल्ने प्रतियोगिताका खेलहरू बौद्धस्थित अजिमा स्नुकर हाउसमा खेलाइने छ । चक्र स्नुकरका पूर्व च्याम्पियन तथा किसन स्नुकर प्रेमीका साथै र स्नुकरका सहयोगी थिए ।
Comment