एनटीए टिम च्याम्पियन

नेपलिज तेक्वान्दो एकेडेमी एनटीए प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण, २ रजत र ४ कांस्यसाथ एनटीए समग्रमा टिम च्याम्पियन बन्यो ।
सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा समान ३–३ स्वर्ण, रजत र कांस्यसहित नेपाल प्रहरी दोस्रो भयो । १ स्वर्ण, २ रजत र ४ कांस्य जितेको आयोजक सैलुङ तेस्रो स्थानमा रह्यो ।
पुरुष १८–३० वर्षमा जितबहादुर बोट ७।१३ तथा ३१–४० वर्षमा कमल श्रेष्ठ ७।१६ अङ्कसाथ पहिलो भए । प्रहरीका दुवै १३ औँ दक्षिण एसियाली खेलकुदका विजेता हुन् ।
पुरुष ४१ वर्षमाथि एनटीएका मधुसूदन सापकोटा ५।८६ अङ्क जोड्दै पहिलो स्थानमा रहे । महिला १० वर्षमा आयोजक सैलुङकी रेणुका तामाङ पहिलो भइन् । रेणुकाले ५।७३ अङ्क जोडिन् । महिला १२ वर्षमा गोदावरी फिट्नेसकी सर्गम थापा पहिलो बनिन् । सर्गमले ६।२३ अङ्क बटुलिन् । महिला १७ वर्षमा कपन तेक्वान्दो डोजाङकी सरिस्मा मगर ५।८३ अङ्कसाथ पहिलो भइन् । पुरुष १७ वर्षमा ५।५५ अङ्क जोडेका एनटीएका विवेक श्रेष्ठले शीर्ष स्थान हात पारे ।
प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक खड्का, नोर्बु लामा, मीन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गीलाई सम्मान गरिएको थियो । उनीहरूलाई सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल, आयोजक डोजाङका अध्यक्ष बुद्धवीर घिसिङ, सैलुङ गाउँपालिका वडा ३ का अध्यक्ष ध्रुवकुमार श्रेष्ठले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको दुई दिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
Comment