सुमन सागाको ब्रान्ड एम्बासडर

गोङ्गबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रालीले कराँते खेलाडी सुमन तिम्सिनालाई बुधवार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ति पत्र एक कार्यक्रमबिच हस्तान्तरण गरे ।
त्यस बापत सागाले सुमनलाई विदेशमा हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निःशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । दुबैबिच एक वर्षका लागि सम्झौता भएको प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए ।
प्रबन्ध निर्देशक गुरुङले पहिलो पटक खेलकुदसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि खेल क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने चाहना रहेको बताए ।
‘नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता पाएका छन् । थुप्रै खेलाडीले आर्थिक अभावका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाएको हामीले सुनेका छौँ । हाम्रो यो कदमले थारै भए पनि खेलाडीलाई राहत मिल्ने छ भन्ने विश्वास छ । त्यसैले हामीले उहाँ ९सुमन० बाट सुरुआत गरेका हौँ ।’ प्रबन्ध निर्देशक गुरुङले भने– ‘आगामी दिनमा अन्य खेलाडीलाई आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने छौँ । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रमुख माध्यम खेल क्षेत्रसँग जोडिन पाउँदा असाध्यै खुसी लागेको छ ।’ उनले अन्य खेलाडीलाई पनि अन्तर्राष्ट्रिय हवाई टिकटमा विशेष छुट दिने प्रतिबद्धता व्यक्त गरे ।
सुमनले ब्रान्ड एम्बसडरमा नियुक्त गरेकोमा सागालाई धन्यवाद दिँदै सागाको प्रवर्द्धनमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
‘ए’ श्रेणीको अन्तर्राष्ट्रिय जज समेत रहेका सुमनले खेलाडीका रूपमा विभिन्न देशमा १८ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
Comment