पिपल्स च्वाईस विधाको मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोट्स अवार्डको पिपल्स च्वाईस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
शुक्रवार एनएसजेएफले पत्रकार सम्मेलन गरी पिपल्स च्वाईस विधाको मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मनोनयनमा पौडीकी गौरीका सिंह, बास्केटबलकी सदीना श्रेष्ठ, भलिबलकी कप्तान अरुणा शाही, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ छन् ।
मनोनीत मध्ये सावित्रा भण्डारी दोस्रो पटक पिपुल्स च्वाइस विधामा मनोनयनमा परेकी हुन् । उनी २०७५ को स्पोट्स अवार्डको मनोनयनमा परेकी थिइन् ।
सावित्राले २०७५ मा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेकी थिइन् भने बाँकी खेलाडी पहिलो पटक यो विधाको मनोनयनमा परेका हुन् ।
गत वर्ष काठमाडौँ, पोखरा र जनकपुरमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उत्कृष्ट प्रदर्शन गरेको चर्चित खेलाडीहरू मनोनीत गरिएको एनएसजेएफका सचिव तथा खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीले बताए ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट ई–सेवा भोटिङ, फेसबुक लाईक, आयोजक संस्थाका पत्रकारको भोट र राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा हुनेछ ।
भाटिङ्गका लागि ई–सेवाको एप डाउनलोड गरेर खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिनेछ ।
भोटिङ शुक्रवारबाटै सुरु भई पुस २७ गते राति १२ बजेसम्म खुल्ला रहने बताइएको छ ।
कोरोना महामारीका वावजुत पनि आयोजना हुन लागेको अवार्डको मनोनयनमा परको खेलाडीहरूले खुसी व्यक्त गरे ।
‘अवार्डको मनोनयनमा पर्दा उत्साहित छु । यो अवार्डले खेलाडीलाई मेहनत गर्न प्रेरणा दिने विश्वास लिएको छ ।’ करातेका मन्डेकाजीले भने ।
यस्तै, रजत पदक विजेता बास्केटबलकी कप्तान सदीना श्रेष्ठले मनोनीत गरेकोमा एनएसजेएफलाई धन्यवाद दिँदै आफूलाई जिताउन आफ्ना समर्थकलाई आग्रह गरेकी छन् ।
‘म र मेरो बास्केटबल परिवारका लागि यो खुसीको खबर हो,  मनोनयन गर्नु भएकोमा धन्यवाद,’ सदिनाले भनिन् ।
नेपाली भलिबल इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता कप्तान अरुणा शाहीले आफ्नो मनोनयन अरू खेलाडीका लागि प्रेरणा बन्ने बताएकी छन् ।
‘यसले खेलाडीलाई हौसला दिन्छ । मलाई मनोनयन गरिदिएकोमा धन्यवाद ।’ शाहीले भनिन् ।
फुटबलकी सावित्रा भण्डारीले भनिन्, ‘सबैले मलाई पहिलेदेखि साथ दिँदै आइरहनु भएको छ र आगामी दिनमा पनि साथ पाउनेमा विश्वस्त छु ।’
पल्सर स्पोट्स अवार्ड पुस २८ गते सेमी भर्चुअल माध्यम मार्फत हुनेछ ।
अवार्ड अब ग्लोबल
एनएसजेएफले शुक्रबारनै विद्युतीय सेवा प्रदायक कम्पनी ई–सेवासँग पनि सम्झौता गरेको छ । ई–सेवासँगको सम्झौता पत्रमा एनएसजेएफका महासचिव प्रज्वल ओली र ई–सेवाका सिइओ रोशन लामिछानेले हस्ताक्षर गरेका हुन् । पिपुल्स च्वाइस अवार्डका मनोनीत खेलाडीलाई ई–सेवामार्फत भोट गर्ने व्यवस्था गरेको छ  ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै ई–सेवा सिइओ लामिछानेले विश्वभर रहेका ई–सेवाका प्रयोगकर्ताले आफूलाई मन पर्ने खेलाडीलाई भोट गर्न सकिने व्यवस्था गरिएको बताए ।
‘फुटबल र क्रिकेटमा लामो समयदेखि काम गर्दै आएका थियौ । अब खेलाडीको प्रवर्द्धन गर्ने अभियानमा जोडिन पाएका छौ ।’ उनले भने ।
Comment