सर्वाधिक पुरस्कार राशि प्रतियोगिताको उपाधि प्रिन्सलाई

नेपालका उदयमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् ।
तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रवार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नवीनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे ।
सेमिफाइनलमा नेपाल नम्बर एक खेलाडी सेनाका रत्न जित तामाङलाई पराजित गरेका प्रिन्सले आत्मविश्वासका साथ खेल्दै प्रतियोगितालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए । रत्न दाइ सँगको जितले मलाई हौसला बढेको छ । म आफ्नो पुरा खेल खेल्छु, विपक्षीलाई कमजोर ठान्न हुँदैन – प्रिन्सले खेल्नु अघि भनेका थिए । त्यसैलाई मनन गर्दै खेलेका प्रिन्सले सिनियर खेलाडी नवीनलाई खेलमा हाबी हुन दिएनन् ।
तृतीय स्थान प्राप्त गरेका सेनाका रत्न जित र रुकेश महर्जनले जनही नगद १० हजार प्राप्त गरे ।
विश्व महामारीको रूपमा रहेको कोरोनाका कारण खेलबाट वञ्चित रहेका राष्ट्रिय खेलाडीहरूका लागि यो निकै नै महत्त्वपूर्ण प्रतियोगिता समेत रहेको थियो । प्रतियोगिता आयोजना गरेकोमा राष्ट्रिय खेलाडीहरूले आयोजकलाई धन्यवाद प्रदान गरे ।
मङ्सिर २१ गते देखि सञ्चालित तोप २१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो ।
Comment