समान तलबको निर्णयले महिला फुटबल कमिटी उत्साहित

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को बिहीबार बसेको कार्य समितिको बैठकले महिला र पुरुष फुटबल खेलाडीको तलब बराबर गरे पछि यसले खेलाडी लगायत फुटबल अधिकारीलाई उत्साहित बनाएको छ ।
महिला फुटबल कमिटीकी सदस्य सँगिना वैद्यले एन्फाको यो निर्णय स्वागत योग्य रहेको भन्दै सम्पूर्ण नेपाली महिला फुटबलरको उत्साहमा वृद्धि गरेको बताएकी छिन् । उनले समानताको आवाज अझ बलियो भएको बताउँदै नेपाली महिला फुटबलरले विगतमा पनि उत्कृष्ट प्रदर्शन गरेको संस्मरण गरिन् ।
यसै क्रममा उनले यो निर्णयले थप्ने उत्साह र मनोबलका कारण नेपालको महिला फुटबलको खेल स्तर समेत वृद्धि हुने अपेक्षा गरेकी छिन् ।उनले एन्फाको कार्य समिति नै धन्यवादको पात्र भएको बताइन् ।
समान तलबका लागि संयोजक पेमा लामा सहित महिला फुटबल कमिटीले आफ्नो आवाज यस अघि नै राखेको थियो ।
यस अघि महिलाहरूको सात हजार तथा पुरुषहरूको १५ हजार रुपैयाँ तलब रहे पनि अहिले समान १८ हजार रुपैयाँ भएको छ । बिहीबारको बैठकमा महिला फुटबल कमिटीले समान तलब र समान पुरस्कारको एजेन्डा प्रस्तुत गरेको थियो ।
Comment