सहयोगी मनको खेलकुदमा प्रवेश

सङ्घर्ष, दुख र त्यस पछि व्यवसायमा सफलता । यी सफलताकै कारण समाजमा केही गर्ने चाहना जाग्यो र समाजसेवामा सक्रियता बढ्यो । यो सक्रियतासँगै एकाएक खेलकुदमा प्रवेश गरिन्, रेखा तामाङ ।
नुवाकोटका गङ्गा बहादुर तामाङ र फूलमाया तामाङ गोरखा सरेका थिए । यी नै गङ्गा बहादुर र फूलमायाकी पहिलो सन्तान रेखाको जन्म २०४६ सालमा भएको हो । उनी जन्मी हुर्किएको गाउँ हालको गोरखा नगरपालिकाको ११ नं वडाको ११ किलो नै गोरखामा परिचित  समाजसेवी रेखाको गाउँ हो ।
जीवनमा नसोचेको दुखहरू भोगिन् उनले । यी दुख, र सङ्घर्षले नै केही गर्ने अठोट दिलायो । सुरुमा विद्यालयको शिक्षिकाको रूपमा जागिरे जीवनको सुरुवात गरेकी यिनले जागिरे जीवन त्यागेर किराना पसल मार्फत बेपार सुरु गरेकी थिइन् । बिस्तारै सुपर मार्केट हुँदै उनले सुरु गरिन्, श्रेयान क्लिनर केमिकल हाउस । यसै उद्योग मार्फत उनले व्यवसाय मात्र अघि बढाइनन्,सामाजिक गतिविधिमा पनि अग्रसरता देखाइन् ।
गोरखा जिल्ला गण्डकी गाउँ पालिका फूजेल याङदीमा उनले दल बहादुर भुजेलका लागि उनले १३ लाख रुपैयाँ बराबरको ४ कोठे अपाङ्ग मैत्री घर बनाइ दिइन् । यत्ति मात्र होइन उनले कोठामा चाहीने सामान वितरण गरिन् । यत्ति मात्र होइन उनले १ लाख ९४ हजार रुपैयाँ बराबरको अक्षयकोष समेत खडा गरिदिइन् ।
उनले अर्को गर्व गर्न लायक फेसबुक लाइभ मार्फत गरिन् । फेसबुक लाइभ मार्फत उनले विभिन्न व्यक्तिलाई सडकबाट उद्धार गरिन् । यत्ति मात्र होइन कुसुन्डा जातीलाई कपडा र भान्छाका सामग्री सहयोग गरिन् । पालुङटार नगरपालिका नौका नाम्जा तामाङलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरिन् । यसै गरी, भ्वाइस अफ नेपाल सिजन टुमा सहभागी झुप्री भण्डारीका लागि ३० हजार रुपैयाँ सहयोग गरिन् । चर्चित गायिका टिका सानुकी बहिनीलाई उनले इन्द्रेणी कार्यक्रममा पुगेर ३३ हजार ३ सय ३३ रुपैयाँ हस्तान्तरण गरिन् ।
कलाकार इकुलाई साथमा लिएर उनले विकट गाउँ मान्बुको पात्लेखर्कमा सहयोग हस्तान्तरण गरिन् ।  उनले आफ्नै गाउँका ५ कक्षासम्मका आधारभूत शिक्षाका लागि ७८ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिन् । उनको यो सहयोग कलाकार र सञ्चारकर्मी, गरिब र दुखी सवैका लागि सहयोग गरिन् । यस क्रममा उनको सहयोग पाउनेमा धेरै वृद्ध  पनि रहे ।
यी यावत सहयोगी मन भएकी रेखा राजनीतिमा पनि संलग्न छिन् । उनी नेकपा समर्थित युवा सङ्घको केन्द्रीय अनुशासन अयोगकी सदस्य समेत छिन् । सामाजिक क्षेत्रमा सक्रिय रहने क्रममा उनी नेपाल आदिवासी जनजाति खेलकुद महासङ्घको केन्द्रीय सदस्य चयन भइन् ।
उनको खेल प्रतिको रुचि र सामाजिक सोचले नेपाल मार्सल आर्ट हाप्कीडो एसोसिएसनका अध्यक्ष काली बहादुर घर्तीको समेत मन छोयो । यसबाट उनलाई यस खेलमा प्रवेश गर्ने बाटो खुलेको छ । हाल उनी गण्डकी प्रदेश मार्सल आर्ट हाप्कीडो एसोसिएसनको कोशाध्यक्ष  रहेकी छिन् । यो सङ्घको अभियानमा रेखाको उपस्थितिले सबै जना त्यत्तिकै खुसी त छन् नै । उनी आफै पनि फराकिलो क्षेत्रमा प्रवेश गर्न पाएकोमा दङ्ग छिन् । अझ धेरैलाई सहयोग गर्न यो राम्रो बाटो भएको समेत उनको ठहर छ ।
उनी आफ्नै आमाबाट प्रेरित भएर सामाजिक काममा हौसिएकी हुन् । आफूले अस्वाभाविक पारिवारिक जिन्दगी भोगेकी उनी अरू महिलाको  मर्म पनि सहजै बुझ्ने गरेकी छिन् । यसै कारण उनले आफ्नो फर्ममा एकल महिलालाई प्राथमिकता दिएकी छिन् । बेपार बढाउँदै जाँदा दुख पाएका महिला र गरिबलाई प्राथमिकता दिने उनको सोच छ । अबको केही वर्ष भित्र वृद्धाश्रम खोल्ने उनको योजना छ । साथै खेलकुदमा पनि दुख पाएका व्यक्तिलाई सहयोग गर्ने उनको चाहना त उनको छदै छ । आफ्नै बल बुताले यो सफलता पाएकी उनी सबै महिलालाई मिहेनती बन्न प्रेरित गर्न चाहन्छिन् । थुप्रै संस्थाबाट सम्मानित उनी यो समानले आफूलाई थप उत्साही बनाउनुका साथै अझ धेरै सकारात्मक काम गर्न प्रेरणा मिलेको बताउँछिन् ।
Comment