सिकागो ओपनमा नेपाली खेलाडीलाई सफलता

 सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन् ।
ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा  सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सञ्जीव नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्फ विभिन्न उमेर समूहमा पदक जितेका हुन् । सन्दीपा र सञ्जीवले दुई पदक जित्दा राजु र प्रेमकुमारले १÷१ पदक जितेका थिए । सन्दीपाले महिला ३० वर्षमुनि र सञ्जीवले ३१ वर्षदेखि ४० वर्ष उमेर समूहको स्पोर्ट्स पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए । सन्दीपाले ट्रेडिसनल पुम्सेमा रजत पदक जित्दा अमेरिकाकी डिना पाजाजेटसँग पराजित भइन् । डिनाले ५.८३३ अङ्क र सन्दीपाले ५.६६७ अङ्क प्राप्त गरेकी थिइन् ।
यसै उमेर समूहमा अमेरिकाकै डाई लिन हुमल तेस्रो स्थानमा सीमित भइन् । स्पोर्ट्स पुम्सेमा भने सन्दीपा तेस्रो स्थानमा खुम्चिन् । यस विधामा अमेरिकाकी बेट्रिज बेलिसेन पहिलो हुँदा फिलिपिन्सकी युनाइस इन्टे दोस्रो भएकी थिइन् । सञ्जीव नेपालीले भने स्पोर्ट्स पुम्से र ट्रेडिसनल पुम्से दुवैमा रजत पदक जितेका थिए । उनले स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे । ट्रेडिसनल पुम्सेमा भने उनी फिलिपिन्सका क्रिस्टि मघिरासँग पछि पर्दा दोस्रोमा खुम्चिए । मघिराले ५.९० अङ्क र सञ्जीवले ५.८६अङ्क ल्याएका थिए ।
त्यसै गरी नेपालका राजु नगरकोटीले ५० वर्षमुनि स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा नेपालकै प्रेमकुमार दर्नाल कांस्य पदकमै सीमित भए । यस विधामा पहिलो भएका अमेरिकन खेलाडी एन्ड्रयु एसिसले ६.१० अङ्क र राजुले ५.४० अङ्क ल्याएका थिए । प्रेमकुमारले भने ५.१०० अङ्क ल्याए । उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्र अमेरिका र नेपालसहित क्यानडा, फिलिपिन्स र स्लोभाकियाका करिब चार सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
Comment